चेम्बर एक्स्पोमा एआई र प्रविधिको नयाँ आयाम

चिरन्जिवी अधिकारी, उपाध्यक्ष, क्यान महासंघ नेपाल एवं कोर्डिनेटर, एआई पोलीसी फ्रेमवर्क

नेपाल चेम्बर अफ कमर्शको आयोजनामा ५ दिनसम्म चलेको ‘चेम्बर एक्स्पो २०२५’ सम्पन्न भएको छ । भृकुटीमण्डपमा आयोजित एक्स्पोमा देश तथा विदेशका विभिन्न वस्तु र सेवाहरू प्रदर्शनीमा राखिएका थिए । यस पटकको प्रदर्शनीको मुख्य आकर्षण बनेको थियो सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) । एक्स्पोमा प्रदर्शित ‘सफ्टवेयर एण्ड एआई प्रोजेक्ट’ले दर्शकहरूको ध्यान आकर्षित गर्न सफल भयो । सूचना तथा प्रविधिमा भित्रिएको नयाँ आयामलाई बुझाउन सफल भयो ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र केन्द्रीय सदस्य तथा आइटी कमिटिका सभापति विज्ञान श्रेष्ठको दुरदर्शी भिजन र नेतृत्वदायी भूमिकाले एक्स्पोमा आइटीले प्राथमिकता पायो । आइटी क्षेत्रको प्रवद्र्धनमा यो एक्स्पोले नयाँ आयाम थपेको स्पष्ट देख्न सकिन्छ । संसारभरका नयाँ प्रविधिहरू बुझाउन र एआईको बारेमा जनचेतना बढाउन एक्स्पोले ठूलो भूमिका निर्वाह गरेको छ । यसले नेपालको समृद्धिका लागि सूचना प्रविधि नै सबैभन्दा सशक्त माध्यम हो भन्ने कुरा पनि पुष्टि गरेको छ ।

पछिल्लो समयमा एआईले डिजिटल दुनियाँमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । यो प्रविधिले मानिसले सोच्ने र निर्णय गर्ने क्षमतालाई कम्प्युटरमा लागू गर्छ ।

नेपालमा पनि एआई प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । बैंकिङ, स्वास्थ्य, ई–कमर्स, यातायात, शिक्षा लगायत क्षेत्रहरूमा एआईको प्रयोगले सेवा सुविधालाई छरितो, सुरक्षित र प्रभावकारी बनाइरहेको छ ।

एआईको विकासले रोजगारीको स्वरूपमा परिवर्तन ल्याउने, स्वास्थ्य सेवालाई अझ परिष्कृत बनाउने र नवीनतम प्रविधिहरूको विकासलाई तीव्र पार्नेछ । तर, यसका चुनौतिहरू पनि छन्। डेटा सुरक्षा, अनैतीक प्रयोग र रोजगार प्रतिस्थापन जस्ता विषयहरू उठिरहेका छन् ।

नेपालमा एआईको उच्चतम सदुपयोग गर्न नीति निर्माण, जनशक्ति विकास र डिजिटल संरचना विस्तारमा ध्यान दिन आवश्यक छ । एआईको बुद्धिमत्तापूर्ण प्रयोगले नेपाललाई डिजिटल युगमा अग्रसर बनाउने विश्वास गरिएको छ ।

(कुराकानीमा आधारित)

You might also like

Comments are closed.