वैशाख १७ बाट हुने ‘चितवन अटो शो’का लागि स्टल बुकिङ अन्तिम चरणमा

चितवन । चितवनको भरतपुरमा हुन लागेको ‘चितवन अटो शो’का लागि स्टल बुकिङ अन्तिम चरणमा पुगेको छ । यही वैशाख १७ गतेदेखि हुने अटो शोका लागि प्राय स्टल बुकिङ भइसकेको अटो शो संयोजक राजन पियाले आर्थिक आवाजलाई जानकारी दिए ।

‘स्टल बुकिङ खुलेसँगै कम्पनीहरुको आकर्षण देखिएको छ । नेपालमा चलेका प्राय सबै अटो ब्राण्डलाई प्रदर्शनी गर्न कम्पनीहरुले स्टल बुकिङ गरिसकेको अवस्था छ,’ उनले भने, ‘अब थोरै स्टलमात्रै बुकिङ हुन बाँकी छ ।’ चारपाँग्रे, दुईपाँग्रे, हेभी कमर्सियलसँगै कम्पोनेन्टहरुको पनि स्टल रहनेछ । बैंक, इन्स्योरेन्स लगायतका स्टल पनि रहने उनले जानकारी दिए ।

चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा अटो शो हुन लागेको हो । भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने अटो शो वैशाख २१ गतेसम्म चल्नेछ ।

अटो शोको तयारीलाई तीव्र बनाइएको चितवन अटोमोबाइल एसोसिएसनका अध्यक्ष मोहन केसीले जानकारी दिए । अटो शोमा नेपालमा बिक्री वितरण भइरहेका प्राय सबै ब्राण्डलाई एकै थलोमा प्रदर्शनी गरिनेछ । अटोमोबाइल व्यवसायको क्षेत्रमा भएका नवीनतम प्रविधिलाई एकै ठाउँमा अवलोकन तथा अध्ययन गर्न चितवन अटो शो महत्वपूर्ण अवसर बन्ने आयोजककोे विश्वास छ ।

You might also like

Comments are closed.