‘चितवन अटो शो’ भोलिबाट, तयारी पुरा

चितवन । चितवनमा अटोमोबाइल्स क्षेत्रको प्रवर्द्धन र विकास गर्ने उद्देश्यले यही वैशाख १७ गतेदेखि २१ गतेसम्म ‘चितवन अटो शो २०२६’ आयोजना हुँदैछ । भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको यो अटो शोको सम्पूर्ण तयारी पुरा भएको संयोजक राजन पियाले जानकारी दिए ।

चितवन अटोमोवाइल डिलर्स एसोसिएसन र चितवन अटोमोवाइल्स एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको अटो शोलाई सफल बनाउन भरतपुर महानगरपालिका, चितवन उद्योग संघ र चितवन उद्योग वाणिज्य संघले सहयोग गरेका छन् ।

अटो शोमा साना तथा ठूला गरी विभिन्न ब्राण्डका कार, जीप, मोटरसाइकल र स्कुटरहरूका ७५ वटा स्टल रहनेछन् । साथै, बैंक तथा इन्स्योरेन्स कम्पनीहरूका स्टल पनि रहनेछन्, जहाँ ग्राहकले ‘अन द स्पट’ फाइनान्स र इन्स्योरेन्स सेवा प्राप्त गर्न सक्नेछन् ।

अटो शोमा पुराना ‘भिन्टेज’ गाडी र महँगा ‘बिग बाइक’को प्रदर्शनी गरिनेछ । यसका साथै मोटरसाइकल स्टन्ट, जिमखाना, टिडिएस ¥याली जस्ता खेलकुद गतिविधि र स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ ।

अटो शोको तेस्रो दिन विज्ञहरूद्वारा ‘अटो सेमिनार’ र चौथो दिन विद्यार्थी तथा अभिभावकहरूका लागि ‘हेल्मेट प्रयोगको सचेतना एवं अन्तर्राष्ट्रिय स्तरको हेल्मेट वितरण’ कार्यक्रम राखिएको छ ।

गाडी खरिद गर्ने ग्राहकलाई विशेष छुट र आकर्षक स्किमका साथै, अवलोकनकर्ताहरू मध्येबाट ३ जनालाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिनेछ । सामाजिक सञ्जाल (इन्स्टाग्राम, टिकटक, फेसबुक रिल) मा बढी भ्युज र शेयर हुनेलाई पनि पुरस्कृत गरिने आयोजकको भनाइ छ ।

अटो शोको माध्यमबाट विद्युतीय सवारी (इभी) र नवीन प्रविधिबारे उपभोक्तालाई जानकारी दिने, सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउने र अर्थतन्त्रमा सकारात्मक ऊर्जा थप्ने मुख्य लक्ष्य रहेको आयोजकको भनाइ छ ।

करिब १० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको अटो शोमा ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ ।

You might also like

Comments are closed.