चितवन । चितवनमा जारी ‘चितवन अटो शो’ सोमबार सम्पन्न हुँदैछ । गत १७ गते सुरु भएको अटो शोमा शनिबारसम्म अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएका छन् । चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा यो अटो शो सञ्चालन भइरहेको छ ।
अटो शोका संयोजक राजन पियाले मेलामा दैनिक हजारौँ अवलोकनकर्ताको उपस्थिति रहेको जानकारी दिए । उनले काठमाडौँ बाहिर पनि अन्तर्राष्ट्रिय स्तरको भव्य अटो शो आयोजना गर्न सकिन्छ भन्ने कुरा पुष्टि भएको बताए । ‘अटो शोको अन्तिम दिन सोमबार पनि अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहनेमा हामी विश्वस्त छौँ,’ पियाले भने ।
अटो शोमा चार पाँग्रे, दुई पाँग्रे, कमर्सियल सवारी, अटो कम्पोनेन्ट, बैंक तथा इन्स्योरेन्स र हेभी इक्विपमेन्ट लगायतका स्टलहरूमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ । पछिल्लो समय संसारमा विकसित भएका नयाँ प्रविधिका अटोमोबाइल ब्राण्डहरूलाई एकै ठाउँमा नजिकबाट बुझ्न पाउनु दर्शकका लागि महत्वपूर्ण अवसर बनेको पियाले बताए ।

अटो शोको चार दिनसम्म सवारी साधनहरूको बुकिङ पनि उत्साहजनक रहेको चितवन अटोमोबाइल एसोसिएसनका अध्यक्ष मोहन केसीले जानकारी दिए । कार (चार पाँग्रे) तर्फ पहिलो दिन २६, दोस्रो दिन ३४, तेस्रो दिन ३१ र चौथो दिन ३५ वटा गरी कुल १२६ वटा बुकिङ भएका छन् ।
त्यसैगरी, दुई पाँग्रे सवारीतर्फ पहिलो दिन २६, दोस्रो दिन १७, तेस्रो दिन १६ र चौथो दिन ३२ वटा गरी जम्मा ९१ वटा बुकिङ भएका छन् । माइक्रो तथा कमर्सियल गाडीतर्फ पहिलो दिन १५, दोस्रो दिन १०, तेस्रो दिन १० र चौथो दिन ११ वटा बुकिङ भएको बताइएको छ ।
मेला अवलोकनका लागि पहिलो दिन २ हजार २६० जना, दोस्रो दिन १ हजार ७२६ जना, तेस्रो दिन २ हजार १७० जना र चौथो दिन १ हजार २४३ जना सहभागी भएको चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष ईन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।






Comments are closed.