चितवन अटोमोबाइल्सको पहलमा नीतिगत अभिमुखीकरण सम्पन्न

चितवन । चितवन अटोमोबाइल्स एसोसिएसनको आयोजना र केन्द्रीय संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सहकार्यमा “कर, भन्सार, भिसिटिएस, एमआरपी तथा मौद्रिक नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रम”  सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–३ स्थित पर्व बैंक्वेट हलमा आयोजित कार्यक्रममा अटोमोबाइल क्षेत्रका व्यवसायी, कर तथा भन्सार प्रशासनका अधिकारी, प्रशिक्षक, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता थियो ।

कार्यक्रमको अध्यक्षता चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कुलबहादुर क्षेत्रीले गरेका थिए भने प्रमुख अतिथि नाडाका केन्द्रीय सचिव विक्रम सिंघानिया थिए ।  कार्यक्रममा चितवन अटोमोबाइल्सका निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारी, विशिष्ट अतिथिका रूपमा राजस्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख हरि शर्मा, आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख पुण्यविक्रम खड्का, अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद काफ्ले, पूर्व अध्यक्ष तथा सल्लाहकार समिति संयोजक शिवराज गिरी, चार्टर्ड एकाउन्टेन्ट विमान कार्की, राजस्व अनुसन्धान कार्यालयका शाखा अधिकृत बालकृष्ण दाहाललगायतको उपस्थिति थियो ।

अभिमुखीकरण कार्यक्रममा भन्सार ऐन, कर प्रणाली, यातायात व्यवस्था , सवारी साधनको दर्ता प्रक्रिया, मौद्रिक नीतिको असरजस्ता विषयमा विस्तृत जानकारी प्रदान गरियो। प्रशिक्षकहरूले व्यावसायिक अभ्यासमा आउने कानुनी, लेखा तथा भन्सारसम्बन्धी जटिलताहरूबारे व्याख्या गर्दै त्यसको समाधानका उपायहरूबारे समेत प्रकाश पारे।

कार्यक्रमले अटोमोबाइल व्यवसायीहरूलाई सरकारी नीतिको स्पष्ट जानकारी गराउनुका साथै कर र भन्सारसम्बन्धी विषयमा व्यावहारिक बुझाइ प्रदान गर्ने उद्देश्य राखेको थियो । सहभागीहरूले यस्तो खालको कार्यक्रमले व्यवसाय सञ्चालनमा आउने प्रशासनिक जटिलता न्यूनीकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

नाडाका सचिव सिंघानियाले अटोमोबाइल क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र नियमअनुकूल बनाउने दिशामा यस्ता कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष क्षेत्रीले अटो व्यवसायीहरूका समस्यालाई नीति निर्माण तहसम्म पुर्‍याउन संस्थागत पहललाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको समापन सहभागीतामूलक छलफलका साथ गरिएको थियो, जहाँ उपस्थित सरोकारवालाहरूले आफ्ना अनुभव र सुझावहरू पनि राखेका थिए ।

You might also like

Comments are closed.