भरतपुर । चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था चितवन उद्योग वाणिज्य संघको आगामी दुई वर्षे कार्यकालको लागि कार्ययोजना गोष्ठी बिहीबार सम्पन्न भएको छ ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको उक्त गोष्ठीले संघले २०८२–२०८४ कार्यकालमा गर्ने कार्यक्रमहरु निर्धारण गरेको छ । गोष्ठीले सदस्यता मुखी कार्यक्रमहरु लगाएत चितवन जिल्लाका आर्थिक तथा सामाजिक विकास सम्वन्धी योजना एवम् चितवन उपत्यकामा लगानीका लागि लगानी सम्मेलन, मेड इन चितवन भन्ने बान्ड प्रवद्र्धन, आरोग्य पर्यटन प्रवद्र्धनका कार्यक्रम, उत्पादन सम्मेलन लगायतका कार्यक्रम संचालन गर्ने योजना तय गरेको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्ययोजना निर्माण गरेर काम गर्दा सफलता प्राप्त गर्न सकिने बताउँदै उनले योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको जानकारी गराएका थिए । कार्यक्रममा अध्यक्ष सुवेदीले आफुले अधिवेशनको समयमा व्यक्त गरेका प्रतिवद्धतालाई योजनामा समेटेर लैजाने जानकारी गराए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष महेन्द्रलाल प्रधानले संघको स्थापनाकालिन अवस्था र विगतमा संघले गरेका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै व्यवासयीहरुको हकहित एवम् व्यवसाय विकास तथा प्रवद्र्धनात्मक हुने किसिमका योजनाहरु छनौटका लागि सुझाव दिएका थिए ।

दुई दिनसम्म सञ्चालित गोष्ठीमा चेम्बर अभियानमा उल्लेखनिय भूमिका निर्वाह गरेका उत्तम झाले सहजीकरण गरेका थिए। चितवन उद्योग वाणिज्य संघले प्रत्येक २ वर्षमा हुने नेतृत्व परिर्वतन पश्चात २ वर्षे कार्यकालको लागि योजना तय गर्ने छ । संघले आफ्ना गतिविधिलाई प्राथमिकताका ५ क्षेत्रहरु कृषि, शिक्षा, स्वास्थ्य , पर्यटन र सूचना प्रविधि लगायतका विषयमा केन्द्रित भई योजना तय गरेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष रमेशकुमार पिया, उदयकुमार श्रेष्ठ, उत्तमलाल चुके, डा.तिलचन्द्र भट्टराई, कल्याण जोशी, सहनलाल प्रधान, चुननारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठ लगाएत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीको धन्यवाद मन्तब्य सहित समापन भएको उक्त कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले संचालन गरेका थिए ।






Comments are closed.