बाढीपीडितका लागि चितवन उद्योग वाणिज्य संघद्वारा १५ लाखभन्दा बढी राहत रकम हस्तान्तरण

चितवन । चितवन उद्योग वाणिज्य संघले २०८३ भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट त्रिशुली नदी आएको बाढीबाट प्रभावित त्रिशुली नदी किनारका रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमका बाढीबाट प्रभावितहरूका लागि संकलन गरेको राहत रकम नेपाल उद्योग वाणिज्य महासंघलाई हस्तान्तरण गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको चौथो कार्यकारिणी समितिको बैठकको अवसरमा चितवन उद्योग वाणिज्य संघका कार्यसमिति, कर्मचारी तथा संघमा आवद्ध वस्तुगत संघहरूबाट संकलित रकम रु। १५,१५,५१५/– (पन्ध्र लाख पन्ध्र हजार पाँच सय पन्ध्र रुपैयाँ) को चेक नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले प्राकृतिक विपत्तिको यस कठिन घडीमा बाढीपीडित परिवारलाई मलम लगाउन संघले आफ्ना सदस्य, कर्मचारी तथा आवद्ध वस्तुगत संघसँग सहकार्य गरी रकम संकलन गरेको बताए । उनले उद्योगी–व्यवसायीहरू सामाजिक उत्तरदायित्वबाट कहिल्यै विमुख नहुने र आगामी दिनहरूमा पनि यस्ता मानवीय ०निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे। उनले संघको पहलमा प्रधानमन्त्री दैवीक प्रकोप उद्धार राहत कोषमा समेत करिब ५७ लाख रुपैयाँ सहयोग रकम जम्मा गराउन सफल भएको बताए ।

राहत रकम ग्रहण गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघले गर्ने हरेक गतिविधि तथा अभियानमा चितवन उद्योग वाणिज्य संघले सधैं उत्कृष्ट सहयात्री भएर कार्य गरेकोमा प्रशंसा गरे। उनले चितवन उद्योग वाणिज्य संघ, यसका सदस्यहरू तथा आवद्ध वस्तुगत संघहरूलाई विशेष धन्यवाद ज्ञापन गरे । अध्यक्ष श्रेष्ठले निजी क्षेत्र सधैं विपदको समयमा राज्य र नागरिकको साथमा उभिने उल्लेख गर्दै प्राप्त राहत रकम पारदर्शी रूपमा बाढीपीडितको प्रत्यक्ष राहत र पुनःस्थापनामा उपयोग गरिने प्रतिबद्धता जनाए।

चितवन उद्योग वाणिज्य संघले स्थापना गरेको राहतकोषमा संघमा आवद्ध विभिन्न वस्तुगत संघहरूले स्वैच्छिक रूपमा रकम संकलन गरी योगदान पुर्याएका थिए । सहयोग गर्ने व्यवसायी संघहरू निर्माण सामग्री हार्डवेयर व्यवसायी संघले तिन लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग गरेको थियो । त्यसैगरी कपडा व्यवसायी संघ चितवनले एक लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ, सुनचाँदी व्यवसायी संघ चितवनले एक लाख पचास हजार पाँच सय रुपैयाँ, साइकल व्यवसायी संघ चितवन नवलपुरले एक लाख एघार हजार एक सय एघार रुपैयाँ तथा प्लाष्टिक व्यवसायी संघ चितवनले एक लाख एघार हजार एक सय एघार रुपैयाँ एवं विद्युत व्यवसायी संघ चितवनले एक लाख एक हजार एक सय एघार सहयोग हस्तान्तरण गरेका थिए।

त्यस्तै, इलेक्ट्रोनिक्स व्यवसायी संघ चितवनबाट सतहत्तर हजार एक सय रुपैयाँ, किराना व्यवसायी संघ चितवनबाट एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ, फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनबाट पचास हजार पाँच सय पचास रुपैयाँ र नेपाल होस्टेल एशोसिएसन चितवनका तर्फबाट पचास हजार रुपैयाँ संकलन भएको थियो । यसैगरी डिजिटल एड मिडिया एशोसिएसन चितवनले चालिस हजार आठ सय तिस रुपैयाँ, चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघले सत्ताइस हजार रुपैयाँ, चितवन अटोमेकानिकल व्यवसायी संघले पच्चिस हजार पाँच सय पचपन्न रुपैयाँ तथा मोवाइल व्यवसायी संघ चितवनले पच्चिस हजार पाँच सय रुपैयाँ योगदान गरेका थिए । साथै, भाडा बर्तन तथा गिफ्ट व्यवसायी संघ चितवनले पच्चिस हजार रुपैयाँ, चितवन अटोमोवाईल एशोसिएसनले पच्चिस हजार रुपैयाँ, अधिकृत व्यवसायी संघले पच्चिस हजार रुपैयाँ, चितवन केरा उत्पादक संघले बिस हजार रुपैयाँ र नेपाल शैक्षिक परामर्श संघ चितवनले दश हजार एक रुपैयाँ राहत कोषमा जम्मा गरेका थिए ।

राहत हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी कार्यसमिति र चितवन उद्योग वाणिज्य संघबाट निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, उपाध्यक्ष त्रय नारायण प्रधान, जनक पौडेल, राजन पिया, कार्यकारी निर्देशक निलबहादुर के।सी, कार्यसमिति सदस्य ईमान्दु बराल, श्रीकृष्ण लम्साल, प्रविन आचार्य, सुरेशकुमार गुप्ता, रेशमलाल आचार्य निर्माण सामाग्री हार्डवेयर संघका वरिष्ठ उपाध्यक्ष तोयानाथ घिमिरेको उपस्थिति रहेको थियो।

You might also like

Comments are closed.

Secret Link