चितवन उवासंघमा आइएसओ ९००१ः२०१५ को गुणस्तर व्यवस्थापन सम्बन्धी तालिम

भरतपुर । चितवन उद्योग वाणिज्य संघको तालिम कक्षमा आइएसओ ९००१ः२०१५ को गुणस्तर व्यवस्थापन प्रणलीको आन्तरिक गुणस्तर परीक्षणसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।

तालिम नेशनल सर्टिफिकेसन एण्ड म्यानेजमेन्ट नेपाल प्रालिको आयोजना एवं चितवन उद्योग वाणिज्य संघको सहकार्यमा भएको हो ।

तालिमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले गुणस्तर व्यवस्थापन प्रणालीले संस्थाको विश्वसनियता, सेवा गुणस्तर र कार्यकुशलता वृद्धि गर्न सहयोग गर्ने बताउँदै कार्यालयको गुणस्तर सुधारका लागि कर्मचारीहरु तथा नेतृत्वलाई तालिमको तालिमको आवश्यकता पर्ने बताएका थिए । उनले तालिममा सक्रिय रुपमा सहभागी भई लाभान्वित हुनका साथै जिज्ञासा लागेको कुरा निर्धक भएर प्रशिक्षकलाई सोध्न सहभागिहरूलाई अनुरोध गरे ।

वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिन सञ्चालित आइएसओ ९००१ः२०१५ को गुणस्तर व्यवस्थापन प्रणलीको आन्तरिक गुणस्तर परीक्षणसम्बन्धी तालिममा नेशनल सर्टिफिकेसन एण्ड म्यानेजमेन्ट नेपाल प्रालिका अध्यक्ष डा. जनार्दन घिमिरे प्रमुख प्रशिक्षक रहेका थिए भने सोही संस्थाको सम्झना बलामी सह प्रशिक्षक थिए ।

तालिममा सहभागीलाई आन्तरिक गुणस्तर परीक्षण विधि, कार्यालयको दस्तावेज व्यवस्थापन, जोखिम व्यवस्थापन, कार्यकुशलता सुधार, गुणस्तरीय व्यवस्थापन प्रणाली र यसका आवश्यकता तथा प्रक्रियाहरु, सेवा तथा उत्पादन गुणस्तर सुधारका लागि नेतृत्व क्षमताको विकास, अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप कार्यप्रणाली विकासका आधार निर्माण लगायतका विषयमा तालिम केन्द्रित थियो ।

चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं सचिवालय तथा आइएसओ व्यवस्थापन समितिका संयोजक जनक पौडेलेले चितवन उद्योग वाणिज्य संघले विगत २० वर्षदेखि गुणस्तर व्यवस्थापन अन्तर्राष्ट्रय मापदण्ड पुरा गरी आइएसओ प्रामाणपत्र प्राप्त गरी संघका गतिविधिहरु सञ्चालन गर्दै आइरहेको बताएका थिए ।

तालिममा चितवन उद्योग वाणिज्य संघ, म्याग्नस फर्माच्यूटिकल्य, अक्सफोर्ड कलेज, नारायणी पव्लिक कलेज, एसवाइ प्यानल, एभरेष्ट कलर, विश्वज्योती स्कुल लगायतका संस्था तथा प्रतिष्ठानहरुबाट गरी १५ जनाको सहभागिता थियो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवं कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका थिए । तालिमको उद्घाटन सत्रमा संघको उपाध्यक्षद्वय नारायण प्रधान र जनक पौडेलको सहभागिता थियो ।

You might also like

Comments are closed.