चितवन उद्योग वाणिज्य संघमा बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

भरतपुर । चितवन उद्योग वाणिज्य संघको सभाहलमा आज बजार व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य संघको आयोजनामा भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा कार्यालय, टोल विकास संंस्था लगायत सरोकारवालाहरुको सहभागीतामा बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो । भरतपुर महानगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित, मर्यादित र उपभोक्तामैत्री बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरक्रियामा बोल्दै अधिकांश सहभागीहरूले बजार क्षेत्रमा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण मुख्य समस्याका रूपमा रहेको औंल्याए । व्यवसायीहरूले बजारलाई सुन्दर र सुरक्षित बनाउन दीर्घकालीन पार्किङ स्थलको व्यवस्था हुनुपर्ने माग राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य राख्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बजारको विकास र व्यवस्थापनमा उद्योगी व्यवसायीहरू प्रशासनसँग सहकार्य गर्न सधैं तयार रहेको बताए । उनले बजार व्यवस्थित नहुँदा ग्राहक र व्यवसायी दुवैलाई सास्ती व्यहोर्नु परेको बताउँदै यसलाई सुधार्न हामी सबै सरोकारवालाहरुको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए।

कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्य वाहक नगर प्रमुख चित्रसेन अधिकारीले बजार व्यवस्थापनका लागि नयाँ गुरुयोजना तयार भइरहेको र नियम मिच्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउने बताए । उनले उद्योगी व्यवसायीहरुले पनी पार्किङ्ग व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउँदै उहाँले बजार व्यवस्थापन टाक्स फोर्स गठन गरी बजार व्यवस्थापनका लागि गुरुयोजना सहितको प्रतिवेदन पेश अनुरोध गरे ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बजार तथा पार्किङ्ग व्यवस्थापन गर्नका लागि मेरो घरको अगाडी गाडी पार्किङ्ग गर्छ भने व्यवस्थापन गर्ने जिम्मेवारी मेरो पनी हो भनेर आम नागरिक लाग्नुपर्ने बताए । उनले बजार केवल किनबेच गर्ने थलो मात्र नभई यो समाजको सभ्यता, संस्कृति र चेतनास्तर झल्काउने ऐना भएको बताए । उनले बजारलाई सभ्य र सुसंस्कृत, सफा, मर्यादित र अनुशासित बनाउनु केवल कानुन वा प्रहरीको बल मात्र पर्याप्त नहुने भन्दै यसका लागि राज्य, व्यवसायी र आम नागरिक तीनवटै पक्षको व्यवहार र सोचमा परिवर्तन आउनु जरुरी रहेको बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले बजारमा भएको पार्किङ्ग व्यवस्थापन तथा ट्राफिकिङ्ग सम्बन्धीका हालका समस्या र समधानका उपायका बारेमा प्रस्तुतिकरण गरेका थिए । सोही कार्यक्रममा भरतपुर महानगरीय प्रहरी प्रमुख कृष्णहरी ढकालले फुटपाथ व्यवस्थापन तथा बजारको सौन्दर्यकरण सम्बन्धी बजारमा देखिएका समस्याका बारेमा प्रस्तुतिकरण गरे ।

आज बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमबाट सरोकारवालाहरु बिच बजार क्षेत्रको व्यवस्थापन, सौन्दर्यकरण लगायतको कार्यका लागि गुरुयोजना तयार गर्न तथा कार्यान्वय गर्न चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीको संयोजकत्वमा १३ सदस्यीय टाक्स फोर्स गठन गरेको छ । जसमा जिल्ला ट्राफिक कार्यालयको प्रमुख, भपरपुर महानगरीय प्रहरी प्रमुख, वडा प्रहरी कार्यालय प्रमुख, विभिन्न टोल विकास संस्थाका अध्यक्षहरु सदस्य रहेको छन । उक्त समितिको संरक्षकमा भरतपुर महानगर प्रमुख र सल्लाहकारमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, उद्योग वाणिज्य संघको अध्यक्ष, भरतपुर महानगर वडा नं १, २ र ३ का वडा अध्यक्षहरु रहनुभएको छ भने टाक्स फोर्स समितिको सदस्य सचिवमा चितवन उद्योग वाणिज्य संघको कार्यकारी निर्देशक रहनुभएको छ ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् बजार व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओलीले चितवन र विशेषगरी नारायणगढ तथा भरतपुर क्षेत्र नेपालकै प्रमुख आर्थिक केन्द्रको रूपमा विकास भइरहेको र विकाससँगै बजार व्यवस्थापनमा थुप्रै चुनौतीहरू पनि थपिएको बताउँदै उनले अन्तरक्रियामा उठेका मुख्य विषयहरू चाहे त्यो अव्यवस्थित पार्किङको समस्या होस्, फुटपाथ अतिक्रमणको कुरा होस्, फोहोरमैला व्यवस्थापन होस् यी सबै बुँदाहरू हाम्रो बजारको प्रतिष्ठा र भविष्यसँग जोडिएको बताउँदै यस्ता समस्या समधानको गुरुयोजना निर्माण तथा कार्यान्वय गर्न मेरो नेतृत्वमा गठित टाक्स फोर्स निरन्तर लाग्ने बताए ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधान, कल्याण जोशी, सहनलाल प्रधान, भरतपुर महानगरपालिका वार्ड १ का अध्यक्ष केशव महर्जन, ३ का वडा अध्यक्ष विकास थापा, वडा प्रहरी कार्यालय प्रमुख कुशराम कार्की, चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण प्रधान, राजन पिया लगायत कार्यसमिति सदस्यज्यूहरु, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरु, भरतपुर महानगरपालिका वडा नं १, २ र ३ का टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता गर्नुभएको अन्तरक्रिया कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.