भरतपुर । चितवन उद्योग वाणिज्य संघको सभाहलमा आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भिष्मकुमार भुषालको प्रमुख आतिथ्यतामा भेटघाट एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले नवनियुक्त महानिर्देशकलाई बधाई दिँदै चितवनका उद्योगी–व्यवसायीका तर्फबाट विभिन्न २० बुँदे माग तथा सुझाव समेटिएको ज्ञापनपत्र हस्तान्तरण गरे ।
ज्ञापन पत्रमा कर नीति स्थिर, पारदर्शी र करदातामैत्री हुनुपर्ने तथा नीति बनाउँदा निजी क्षेत्रसँग अनिवार्य परामर्श गरिनुपर्ने, करदाता अपराधी होइन, राज्यको सहयात्री हो भन्ने मान्यता अनुसार हचुवाका भरमा धरपकड गर्ने र पहिला थुन्ने अनि सुन्ने परिपाटी अन्त्य हुनुपर्ने, कार्यालय धाउनुपर्ने झन्झट हटाएर अनलाइन र एकद्वार सेवा प्रभावकारी बनाइनुपर्ने, मन्दी र विपद्का बेला राहत÷कर छुट दिइनुपर्ने तथा करको दर बढाउनुभन्दा करको दायरा विस्तार र अवैध कारोबार नियन्त्रण गरिनुपर्ने, भौगोलिक र ढुवानी भिन्नताका कारण देशभर एउटै एमआरपि कठिन हुने भएकाले हतारमा जरिवाना गर्नुभन्दा पर्याप्त समय, स्पष्ट कार्यविधि र सचेतनालाई प्राथमिकता दिइनुपर्ने लगायतका सुझाव समावेश गरी २० बुँदे सुझाब समेटिएको ज्ञापन पत्र हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले देश सञ्चालन, विकास निर्माण र नागरिकप्रतिको दायित्व पूरा गर्न राजस्व मुख्य स्रोत भएको बताउँदै उनले कर तिर्ने व्यवसायी र राजस्व संकलन गर्ने राज्य संयन्त्र प्रतिस्पर्धी होइनन्, देश निर्माणका सहयात्री भएको बताए । उनले कर नीति सरल, स्थिर र पूर्वानुमानयोग्य हुनुपर्ने बताउँदै व्यवसायीलाई अपराधीको जस्तो व्यवहार नगरी सम्मान र सहजीकरण गर्ने वातावरण बन्यो भने मात्रै लगानी, उत्पादन र रोजगारी बढ्छ र राजस्व वृद्धि समेत हुने धारण व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भिष्मकुमार भुषालले आन्तरिक राजस्व विभाग करदातालाई तर्साउने वा दुःख दिने निकाय नभई सहजीकरण गर्ने तथा व्यवसायीहरुको अविभावक भएको बताए । उनले राजस्व प्रशासनलाई पूर्ण रूपमा प्रविधिमैत्री, पारदर्शी र करदातामैत्री बनाउन विभाग क्रियाशील भएर लागिपेरको बताउँदै व्यवसायीहरूले उठाएका व्यावहारिक समस्या, विशेष गरी एमआरपि कार्यान्वयनमा देखिएका जटिलता, प्रशासनिक झन्झट र कर प्रणालीका सुधारका विषयमा विभाग गम्भीर भएको जानकारी गराउँदै कानुनको परिधिभित्र रहेर निजी क्षेत्रका जायज मागहरूलाई सम्बोधन गर्न र संवादमार्फत समस्या सुल्झाउन विभाग सदैव तयार रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवम् चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले निजी क्षेत्रले सधैं राज्यको नीति र कानुनको पालना गर्दै आएको तर, पटक–पटक परिवर्तन हुने करका दर र झन्झटिलो प्रक्रियाले उद्योगी–व्यवसायीलाई निराश बनाएको बताए । उनले कर परीक्षण वा अनुसन्धानका नाममा व्यवसायीको मान–मर्यादामा आँच आउने गरी मिडियाबाजी गर्ने वा अनावश्यक झन्झट दिने प्रवृत्ति रोकिनुपर्ने बताउँदै राजस्व विभाग र निजी क्षेत्रबीच नियमित रूपमा समस्या समाधान गर्ने खालको द्विपक्षीय संवाद संयन्त्र निर्माण हुन आवश्यक रहेको जसले व्यवसायीहरुलाई परेका कठिनाइहरू समयमै सुल्झाउन सकिने बताए ।
सोही कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय, भरतपुरका प्रमुख कर अधिकृत पूण्य विक्रम खड्काले चितवन क्षेत्रका साना तथा मझौला व्यवसायीहरूलाई डिजिटल प्रणाली प्रयोगमा सहजीकरण गर्न, करदाता शिक्षा कार्यक्रम चलाउन र करसम्बन्धी अस्पष्टतालाई स्पष्ट पार्न कार्यालयले निरन्तर सहयोग गर्दै आईरहेको बताए । उनले करको दायरा फराकिलो बनाउँदै इमानदार करदातालाई सम्मान र प्रोत्साहन गर्ने नीतिलाई पालना गर्दै स्थानीय स्तरमा करदाता र कर प्रशासनबीचको सम्बन्धलाई थप सुमधुर र विश्वासिलो बनाउन सधै प्रतिबद्ध रहेको बताए
।
कार्यक्रममा उपस्थित उद्योगी–व्यवसायीले राज्यलाई बुझाउनुपर्ने कर इमानदारीपूर्वक तिर्न सधैँ तयार रहेको बताउँदै राजस्व प्रशासनबाट हुने प्रशासनिक ढिलासुस्ती, एउटै विवरण पटक–पटक माग्ने प्रशासनिक झन्झट, र साना त्रुटिमा पनि ठूलो कारबाही वा धरपकड गर्ने मानसिक त्रास अन्त्य हुनुपर्ने धारण राखेका थिए । व्यवसायीहरुले भन्सार, आन्तरिक राजस्व र स्थानीय तहबीच समन्वय नहुँदा दोहोरो झन्झट व्यहोर्नुपरेको र बजार अनुगमन र नियमन गर्दा व्यवसायीलाई धरपकड र जरिवाना गर्नुअघि सुधारको अवसर, स्पष्ट कार्यविधि र सचेतना दिनुपर्ने भन्दै निजी क्षेत्रलाई निर्धक्कसँग लगानी र व्यवसाय गर्ने वातावरण राज्यले बनाईदिनुपर्ने धारण राखेका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व विभागका निर्देशक लाल प्रसाद पंगेनी, चितवन उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी, माडी उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न क्षेत्रका उद्योगी व्यवसायी गरी करिव ६० जनाको सहभागिता थियो ।
चितवन उद्योग वाणिज्य संघको अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन सहित समाप गरेको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।



Comments are closed.