बैंकिङ सुधारका लागि व्यापक छलफल र ठोस सुझाव आवश्यक छ : सिबिफिन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रका संरचनागत समस्या र चुनौतीहरू पहिचान गरी ठोस समाधानसहितको सुझाव दिनका लागि गठन गरेको सुझाव उपसमितिलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले ऐतिहासिक र स्वागतयोग्य कदमको रूपमा मूल्यांकन गरेको छ।

सिबिफिनले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको बैंकिङ इतिहासमा पहिलोपटक सुधारको उद्देश्यसहित राष्ट्रियस्तरको उपसमिति गठन हुनु ऐतिहासिक निर्णय हो।”

सिबिफिनले गभर्नरज्यूको अग्रसरता, स्थलगत अध्ययन, सरोकारवालासँगको सघन संवाद, वित्तीय नीतिको पुनर्विचार र आगामी मौद्रिक नीतिको दृष्टिकोणले देश बैंकिङ सुधार र दिगो आर्थिक विकासतर्फ प्रवेश गरिरहेको विश्वास व्यक्त गरेको छ।

उपसमितिमा केन्द्रीय बैंक बाहिरका, निजी क्षेत्रका अनुभवी र प्रतिष्ठित विषयविज्ञहरूको समावेश रहेको उल्लेख गर्दै सिबिफिनले ती विशेषज्ञहरूले वास्तविक समस्याका पिँडाबिन्दुहरू पहिचान गर्ने, ठोस सुझाव दिने र नियामकीय सुधारको आधार तय गर्नेमा पूर्ण विश्वास व्यक्त गरेको छ।

सिबिफिनले उपसमितिले गर्ने अध्ययन, अनुसन्धान, छलफल तथा संवाद प्रक्रियामा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ। साथै, नेपाल राष्ट्र बैंकले अघि सारेका दुरगामी नीतिगत योजनाहरूको कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्न सदैव तयार रहने सन्देश दिएको छ।

सिबिफिनको धारणा अनुसार, यो पहलले समस्या चिर्ने मात्र नभई भविष्यको मार्गचित्र कोर्न सहयोग पुर्‍याउनेछ, जसले गर्दा वित्तीय प्रणाली थप सुदृढ र विश्वासिलो बन्नेछ।

You might also like

Comments are closed.