काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडबीच आइतबारबाट एकीकृत कारोबार सुरु भएको छ । बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न सिटिजन्स बैंकलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति दिएपछि एकीकृत कारोबार शुभारम्भ भएको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोहबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरे ।
दुई बैंकबीच सहमति भएअनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।
चैत्र १३ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि निक्षेप करिव १२७ अर्ब रुपैयाँ पुगेको छ भने ऋण लगानी करिव ११३ अर्ब रुपैयाँ पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल १६६ शाखा भएका छन् ।






Comments are closed.