कुलमानसँग सिटिजन लाइफको प्रत्यक्ष संवादः कामप्रति इमान्दार बन्न सुझाव

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसँग अन्तरक्रिया तथा प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मंगलबार भर्चुअल माध्यमबाट घिसिङका अनुभव तथा सफलताका कथाहरु सुन्ने गरी कार्यक्रम आयोजना गरेको हो ।

उक्त अवसरमा बोल्दै घिसिङले मानिसहरु सफल हुनका लागि आफ्नो काम र जिम्मेवारीप्रति इमान्दार भएर लाग्नुपर्ने बताए । आफ्नो दायित्व र कर्तव्य बुझेर इमान्दारितापूर्वक काम गर्नुपर्ने उनले बताए । ‘सफलतामा सबैको क्रेडिट लिने र असफलताप्रति आफू उत्तरदायी हुनुपर्छ,’ उनले भने । विद्युत प्राधिकरणमा आफू कार्यकारी निर्देशक हुँदा सबैको साथ र सहयोगबाट उज्यालो नेपाल अभियान सफल भएको उनले बताए । अर्को प्रसंगमा बोल्दै घिसिङले आफू देशका लागि आवश्यकता पर्यो भने राजनीतिमा आउनसक्ने सम्भावना रहेको पनि खुलासा गरे ।

कार्यक्रममा बोल्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उज्यालो नेपालका अभियान्ता कुलमान घिसिङको जीवनीबाट धेरै प्रेरणा लिनुपर्ने बताए । कम्पनीका चिफ मार्केटिङ अफिसर भुषण रिमालले कुलमान घिसिङ र विद्युत पर्यायबाची शब्द जस्तै बनेको बताए ।

You might also like

Comments are closed.