सिटिजन्स बैंकद्वारा गत आबको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त आर्थिक वर्षमा बैंकको निक्षेप, कर्जा दुवैमा सुधार भएको छ । बैंकले वेसरट एकल अंकमा ल्याउन सफल भएको छ ।

कर्जा निक्षेपको अनुपात (सिडि रेसियो) एवं तरलता अनुपात (लिक्युडिटी रेसियो) ले बैंकको स्वस्थ वित्तीय अवस्था चित्रण गरेको छ । बैंकको कुल निक्षेपमा चालु र बचत निक्षेप परिचालनको अवस्थामा सुधार भएको छ । पूँजी पर्याप्तता अनुपातमा समेत सुधार भएको छ ।

उक्त अवधिमा बैंकले एक खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । निक्षेप संकलनमा ११.४७ प्रतिशत र कर्जा लगानीमा ९.७६ प्रतिशत बृद्धि गर्न बैंक सफल भएको छ । सो अवधिमा बैंकले १ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । आर्थिक मन्दी लगायत विविध कारणले बैंकको नाफा केही घटेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब ८६ करोड रुपैयाँ थियो । सञ्चालन मुनाफा २ अर्ब ७ करोड छ । बैंकको वितरणयोग्य मुनाफा ६१ करोड ६१ लाख रुपैयाँ छ । जुन ४.३४ प्रतिशत हुन आउँछ । बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ९.४५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५१.८१ रुपैयाँ छ ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) ४.०७ प्रतिशत छ । अघिल्लो वर्ष एनपीएल ३.३९ प्रतिशत थियो । बैंकको चुक्तापुँजी १४ अर्ब २० करोड छ ।

उक्त आबमा बैंकले बाग्मती प्रदेशमा ४ गण्डकी प्रदेशमा २, कर्णाली प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २ गरी ९ वटा थप शाखाहरु संचालनमा ल्याएको छ । आफ्नो सबै प्रदेशको प्रदेश कार्यालयस्थित आफ्नै भवनमा लर्निङ सेन्टरहरु एकसाथ संचालनमा ल्याएको छ । कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु संचालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु संचालन गर्न बैंकले लर्निङ सेन्टरको स्थापना गरेको हो । लर्निङ सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, वाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरी एकै पल्ट ३६५ जनाले कार्यक्रममा सहभागीता जनाउन सक्नेछन् ।

lcci
You might also like

Comments are closed.