काठमाडौं । आज बिहान देशभर सामान्य बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ । अन्य प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षासहित हिमपातको अवस्था देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा बदली रहनेछ भने तराईका क्षेत्रमा सामान्य बदली रहने अनुमान छ ।
मौसमविद्हरूका अनुसार कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी–हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुनेछ ।
त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने चेतावनी दिइएको छ । साथै, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ ।
मौसममा हुने तीव्र परिवर्तनका कारण यात्रु, किसान तथा प्रभावित क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।








Comments are closed.