पोखरा । विश्वव्यापी रूपमा T20 विश्वकपको आधिकारिक साझेदार कोकाकोला नेपालमा पनि क्रिकेटप्रेमीहरूका लागि विशेष पहलसहित अघि आएको छ। विश्वकपको अवसर पारेर कोकाकोलाले पोखराको लेकसाइडस्थित बाराहीघाटमा निःशुल्क लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गर्ने भएको हो ।
यसअघि काठमाडौंको टुँडिखेल र तीनकुनेमा सफलतापूर्वक लाइभ स्क्रिनिङ सम्पन्न गरिसकेको कोकाकोलाले अब पोखरामा पनि क्रिकेट उत्सवको माहोल सिर्जना गर्ने तयारी गरेको जनाएको छ। कार्यक्रम Specks 14 सँगको सहकार्यमा आयोजना हुँदैछ भने इन्टरनेट पार्टनरका रूपमा वर्ल्डलिंक र फुड डेलिभरी पार्टनरका रूपमा रक्सी सुकुटी रहेका छन् ।
बाराहीघाटमा आयोजना हुने उक्त लाइभ स्क्रिनिङ अन्तर्गत नेपालका महत्वपूर्ण खेलहरू ठूलो स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । खेल तालिका अनुसार फेब्रुअरी १२ मा नेपाल विरुद्ध इटाली दिउँसो ३:१५ बजे, फेब्रुअरी १५ मा नेपाल विरुद्ध वेस्ट इन्डिज बिहान ११:१५ बजे तथा फेब्रुअरी १७ मा नेपाल विरुद्ध स्कटल्याण्ड साँझ ७:१५ बजे खेलाइनेछ ।
आयोजकका अनुसार कार्यक्रममा केवल खेल मात्र नभई लाइभ म्युजिक परफर्मेन्स, आकर्षक चियरलिडर्स प्रस्तुति तथा दर्शक सहभागितासहित पर्वजस्तै वातावरण तयार गरिनेछ। यसले क्रिकेटप्रेमीहरूलाई खेलसँगै मनोरञ्जनको पूर्ण अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।
Specks 14 का प्रबन्ध निर्देशक महेश्वर सिंह भण्डारीले पोखरामा पनि काठमाडौंजस्तै उत्साहजनक वातावरण सिर्जना गर्दै क्रिकेटलाई उत्सवको रूपमा मनाउने उद्देश्य रहेको बताए । उनले सबै क्रिकेटप्रेमीलाई उपस्थित भई नेपाललाई समर्थन गर्न आग्रह गरे ।
कोकाकोलाको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहने आयोजकले जनाएको छ । ठूलो संख्यामा दर्शक उपस्थित हुने अपेक्षा गरिएको कार्यक्रमको व्यवस्थापन ऋचा श्रेष्ठले गरिरहेकी छन् ।
पोखरामा यस प्रकारको खुला लाइभ स्क्रिनिङ कार्यक्रमले विश्वकपको रोमाञ्च अझ बढाउने विश्वास गरिएको छ ।




Comments are closed.