वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्रकाशित सूचनाअनुसार भदौ महिनाको तुलनामा असोजमा बैंकहरूको ब्याजदर घटेको छ ।

भदौमा ५.५७७ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा झरेको छ । यस अवधिमा ब्याजदर ०.११ प्रतिशतविन्दुले घटेको हो ।

२० वाणिज्य बैंकमध्ये ९ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ०.५ प्रतिशतविन्दु घटाएका छन् भने सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दु र कुमारी बैंकले ०.२ प्रतिशतविन्दु घटाएका छन् ।

यद्यपि लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोज महिनामा ब्याजदर बढाएका छन् । लक्ष्मी सनराइजले ०.२५ प्रतिशतविन्दु र स्ट्याण्डर्ड चार्टर्डले ०.०५ प्रतिशतविन्दु ब्याजदर बढाएका हुन् । बाँकी ९ बैंकले भने भदौकै दरलाई निरन्तरता दिएका छन् ।

असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याजदर कुमारी बैंकले प्रस्ताव गरेको छ, जसले अधिकतम ५.०१ प्रतिशतका दरले ब्याज दिनेछ । अधिकतम ब्याजदर भने ६ प्रतिशत कायम भएको छ, जुन दर एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले दिनेछन् ।

यस्तै, संस्थापक मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि समीक्षा अवधिमा ०.०८८५ प्रतिशतविन्दुले घटेको छ । ७ वाणिज्य बैंकले ब्याजदर घटाउँदा औसत दर तल झरेको हो भने १३ वाणिज्य बैंकले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

You might also like

Comments are closed.