काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर थप घटाएका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा साउन महिनाको तुलनामा भदौमा ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेर ५.६८ प्रतिशतबाट ५.५७ प्रतिशतमा पुगेको छ ।
ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई रहेका छन् । त्यस्तै सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल बैंकले साउनमै कायम दरलाई निरन्तरता दिएका छन् । प्रभु बैंकले भने विपरीत भदौ महिनामा ब्याजदर बढाएको छ ।
छोटो अवधिका मुद्दती निक्षेपमा कम र लामो अवधिका लागि बढी ब्याजदर तोक्ने परम्परा वाणिज्य बैंकहरूको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घट्दा बचतकर्ताको आम्दानी घट्ने भए पनि कर्जा लिने ग्राहकले भने केही राहत पाउने देखिन्छ । यसअघि नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदै बैंकहरूलाई ब्याजदर तल झार्न दबाब दिएको थियो । हाल नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत कायम छ ।
असार महिनामा भएको उच्च पूँजीगत खर्चका कारण निक्षेप बढे पनि कर्जा प्रवाह सुस्त रहँदा बैंकहरूले भदौ महिनामा पनि ब्याजदर घटाएका हुन् । यसले निक्षेपकर्तालाई असुविधा भए पनि कर्जा बजारलाई सक्रिय बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ ।
बैंकहरूको साउन–भदौ ब्याजदर तुलना (व्यक्तिगत मुद्दती निक्षेप अधिकतम)
| बैंक | साउन (%) | भदौ (%) |
|---|---|---|
| कृषि विकास | ५.४ | ५.२ |
| एभरेस्ट | ६.२५ | ५.७५ |
| नेपाल | ५.४ | ५.४ |
| लक्ष्मी सनराइज | ५.५ | ५ |
| माछापुच्छ्रे | ६ | ६ |
| एनआईसी एसिया | ६.२५ | ६.२५ |
| प्रभु | ४.२५ | ५.३५ |
| स्ट्यान्डर्ड चार्टर्ड | ६.२६ | ५.१३ |
| राष्ट्रिय वाणिज्य | ५.५ | ५.५ |
| नबिल | ५.५ | ५.५ |
| ग्लोबल आईएमई | ६ | ६ |
| सिद्धार्थ | ५.७५ | ५.५ |
| प्राइम कमर्सियल | ६ | ६ |
| कुमारी | ५.४१ | ५.२१ |
| सानिमा | ६.१८ | ५.७५ |
| हिमालयन | ६ | ६ |
| नेपाल एसबीआई | ५.३५ | ५.२५ |
| इन्भेस्टमेन्ट मेगा | ५.२५ | ५.२५ |
| एनएमबी | ६ | ६ |
| सिटिजन्स | ५.५ | ५.५ |


Comments are closed.