काठमाडौं । साउन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्रकाशित सूचनाका आधारमा असार महिनाको तुलनामा औषत ब्याजदर घटेको देखिएको छ ।
असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपको औषत अधिकतम ब्याजदर ५.९०२ प्रतिशत थियो भने साउनमा घटेर ५.६९७५ प्रतिशत पुगेको छ । यसरी व्यक्तिगत मुद्दति निक्षेपमा औषत ब्याजदर ०.२०४५ प्रतिशत विन्दु घटेको छ । यस्तै, संस्थागत मुद्दति निक्षेपको औषत अधिकतम ब्याजदर पनि ०.२६ प्रतिशत विन्दुले घटेको छ ।
२० वाणिज्य बैंकहरुमध्ये १४ बैंकले साउन महिनामा ब्याजदर घटाएका छन् । तीमध्ये प्रभु बैंकले सबैभन्दा धेरै, १.८५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । असारमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.१ प्रतिशत ब्याज दिँदै आएको प्रभु बैंकले साउनदेखि ४.२५ प्रतिशत मात्र दिने भएको छ । यो दर वाणिज्य बैंकहरुमध्ये सबैभन्दा न्यून हो ।
व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याज दिने बैंक भने स्ट्याण्डर्ड चार्टर्ड बैंक बनेको छ । सो बैंकले अधिकतम ६.२६ प्रतिशत ब्याज दिने जनाएको छ ।
यसपटक ४ बैंकले असार महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन् । माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले ब्याजदर यथावत राखेका हुन् ।
अर्कोतर्फ, निक्षेपको ब्याजदर सबैभन्दा बढी बढाउने बैंक हिमालयन बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशतबाट ६ प्रतिशत पुर्याएको छ । त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा पनि ४ प्रतिशतबाट ५ प्रतिशत पुर्याएको छ ।
नयाँ ब्याजदर लागू भएसँगै बचतकर्ताले अपेक्षा गरेको प्रतिफलमा केही घटबढ देखिने भएको छ । आगामी दिनमा आर्थिक स्थितिको प्रवृत्तिलाई मध्यनजर गर्दै बैंकहरुले ब्याजदर समायोजन गर्ने विज्ञहरुले बताएका छन् ।
Comments are closed.