कोन सहकारी बन्यो उत्कृष्ट करदाता

कास्की । आन्तरिक राजस्व कार्यालय पोखराले दशौँ राष्ट्रिय कर दिवसका अवसरमा आयोजना गरेको कर सप्ताहमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । कर सप्ताह (मङ्सिर १–७ गते)को समापनका अवसरमा मंगलबार पोखरामा एक कार्यक्रमका बीच गत आर्थिक वर्षमा आयकरतर्फ बढी कर भुक्तानी गर्ने पोखरा महानगरपालिका–१३ मा अवस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारीलाई उत्कृष्ट करदाता घोषित गर्दै सम्मान गरियो । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले कोन सहकारीका अध्यक्ष तीर्थ बस्नेतलगायत पदाधिकारीलाई दोसल्ला तथा सम्मानपत्रबाट प्रदान गरे ।

सो सहकारीले गत आर्थिक वर्षमा आयकरबापत रु ६७ लाख २९ हजार कर तिरेको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख रमेश शर्माले जानकारी दिए । सहकारीले वार्षिक रु चार अर्बभन्दा बढीको कारोबार गरेको छ । कर सप्ताहका अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराका कम्प्युटर अपरेटर दीपक पौडेल उत्कृष्ट कर्मचारी घोषित हुँदै सम्मानित भए ।

कार्यक्रममा कर सप्ताहका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजेता कर्मचारीलाई समेत पुरस्कृत गरिएको थियो । प्रदेश सरकारका प्रमुख सचिव पन्थले कोभिड–१९ उद्योग व्यवसायमा प्रभाव पारे पनि कर सङ्कलन उत्साहजनक रहेको बताए । कर प्रशासनमा देखिएका कमीकमजोरी सुधार गरेर जानुपर्नेमा जोड दिँदै कर शिक्षा बढेका कारणले कर सङ्कलन उत्साहजनक भएको उनले उल्लेख गरे ।

jutta mela

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कर तिर्न आउने करदातालाई सहज सेवा प्रवाह हुनुपर्नेमा जोड दिँदै करका दायरा वृद्धि गर्दै जानुपर्ने बताए । कार्यालय प्रमुख शर्माले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा लक्ष्यभन्दा बढी कर सङ्कलन गर्न सफल भएको बताए । प्रथम चौमासिकमा रु एक अर्ब १५ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएकामा लक्ष्यभन्दा बढी रु एक अर्व ५५ करोड जम्मा भएको बताए ।

You might also like

Comments are closed.