काठमाडौं । विश्वप्रसिद्ध टायर ब्रान्ड कन्टिनेन्टलको नयाँ पुस्ताको अल-टेरियन टायर ‘क्रसकन्ट्याक्ट ए/टी२’ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि कन्टिनेन्टल टायरको एकमात्र आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले एक कार्यक्रममार्फत यो अत्याधुनिक टायर नेपाली उपभोक्तामाझ सार्वजनिक गरेको हो । यस टायरको आगमनसँगै नेपालको एसयुभी, ‘फोर वाई फोर’ तथा विद्युतीय सवारीसाधन (इभी) को मोटर अटोमोबाइल बजारमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।
गत जनवरी २०२६ मा भारतमा सार्वजनिक गरिएको यो टायर विश्वबजारमा छिट्टै नै लोकप्रिय बन्न सफल भएको उत्पादन हो । कन्टिनेन्टलले यस टायरलाई गिट्टी, हिलो, बालुवा, ओसिलो र चट्टानी भूभागलगायत विभिन्न जटिल सतहहरूमा भरपर्दो कार्यक्षमता प्रदान गर्न विशेष रूपमा विकास गरेको छ । नेपालको भौगोलिक विविधता अनुसार राजमार्ग, कच्ची सडक, गिट्टीमयी मार्ग र चुनौतीपूर्ण मौसमी अवस्थाहरूमा समेत यसले उत्कृष्ट कार्यसम्पादन दिने कम्पनीको दाबी छ । यसमा रहेको बढेको ट्रेड गहिराइ, सेल्फ–क्लिनिङ क्षमता, बलियो साइडवाल सुरक्षा तथा विशेष पोलिमर मिश्रणले टायरको आयु र स्थायित्वलाई अझ बलियो बनाएको छ ।
विशेषगरी आधुनिक विद्युतीय एसयुभीहरूको बढ्दो बजार मागलाई लक्षित गर्दै यसको बलियो संरचना तयार गरिएको छ । जसले उच्च सवारी भार, इन्स्टन्ट टर्क र शान्त अन–रोड ड्राइभिङको आवश्यकतालाई सहजै व्यवस्थापन गर्न सक्दछ । ‘नेपाली बजारमा तीव्र रूपमा बढिरहेको एसयुभी, फोर वाई फोर र विद्युतीय सवारीसाधन प्रयोगकर्ताहरूको उच्च मागलाई सम्बोधन गर्न हामीले विश्वस्तरीय प्रविधियुक्त ‘क्रसकन्ट्याक्ट ए÷टी२’ नेपाली बजारमा ल्याएका हौं,’ डेल्टा डिस्ट्रिब्युटर्सका प्रबन्ध निर्देशक विक्रम सिंघानियाले भने, ‘नेपालको कठिन भौगोलिक र चुनौतीपूर्ण सडक दुवै अवस्थामा यो टायरले ग्राहकलाई उत्कृष्ट आराम, सुरक्षा र स्थायित्व प्रदान गर्नेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं ।’

डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले यो टायरको उपलब्धतासँगै नेपालका एड्भेन्चर–ड्राइभिङ रुचाउने समुदाय तथा दैनिक रूपमा आरामदायी यात्रा खोज्ने चालकहरूका लागि उच्च गुणस्तरीय ग्लोबल प्रविधि अझ बढी पहुँचयोग्य बनेको जनाएको छ । दैनिक सहरी सडकको सहजता र अफ–रोड यात्राको रोमाञ्चकता एकसाथ खोज्ने अटोमोबाइल उपभोक्ताहरूका लागि यो टायर एक भरपर्दो र दीर्घकालीन विकल्पका रूपमा स्थापित हुनेछ ।





Comments are closed.