काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा, अर्जुन पोखरेल र नारायण पौडेलको नाम सिफारिस गरिएको छ। अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले पाँच आवेदकमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो।
प्राधिकरणको अध्यक्ष पदका लागि डा. हरिकुमार नेपाल, अनिल पौडेल र परितोष पौड्यालले पनि आवेदन दिएका थिए। तर, अनिल पौडेल अन्तर्वार्तामा सहभागी नभएका कारण स्वतः बाहिरिए भने परितोष पौड्याल र हरिकुमार नेपाल सिफारिस सूचीमा अटाउन सकेनन्।
विशेषगरी एमाले निकट सहकारी नेता तथा नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालको नाम अध्यक्ष पदका लागि निकै चर्चामा थियो। तर, अन्तिम तीनको सूचीमा उनको नाम नपर्नु राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
सिफारिसमा परेकामध्ये डा.खगराज शर्मा सहकारी बोर्डका पूर्व सदस्य सचिव तथा एमाले सहकारी विभागका सदस्य हुन्। अर्जुन पोखरेल नेपाल सरकारका पूर्व सचिव एवं प्राधिकरणको अध्यक्षका रूपमा समेत कार्य गरिसकेका व्यक्ति हुन्। पोखरेलको नाम सत्ता साझेदार एमालेसँग निकट मानिन्छ।
तेस्रो सिफारिस नारायण पौडेल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्। उनी काँग्रेस निकट मानिन्छन्। नियामक संस्था प्राधिकरण संघ, प्रदेश र स्थानीय तहका सम्पूर्ण सहकारी संस्थाहरूलाई नियमन गर्ने कानुनी जिम्मेवारी बोकेको स्वायत्त निकाय हो। यसको गठनका लागि संसद्को अघिल्लो हिउँदे अधिवेशनमा ऐन संशोधन गरिनुका साथै अध्यक्ष चयन प्रक्रियालाई स्पष्ट बनाइएको थियो।
प्राधिकरणको अध्यक्ष बन्नका लागि सम्बन्धित क्षेत्रमा स्नातकोत्तर हासिल गरेका र १५ वर्ष कार्य अनुभव भएका व्यक्ति हुनुपर्ने कानुनी मापदण्ड तोकिएको छ। हाल प्राधिकरणमा तीनजना मात्र सदस्य छन् । सहसचिव मदन कोइराला, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, र अध्यक्षको जिम्मेवारी सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्माले लिएका छन्। चौथो सदस्य चार्टर्ड एकाउन्टेन्टमध्येबाट सरकारले नियुक्त गर्ने प्रावधान छ। प्राधिकरणमा अध्यक्ष नियुक्तिपछि सहकारी क्षेत्रको नियमन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
Comments are closed.