यातायात कार्यालय पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भन्दा बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । सवारी चालक अनुमति पत्र, पर्सा कार्यालयका तत्कालीन आठौं तहका अधिकृत कमल राज गौतमविरुद्ध दुई करोडभन्दा बढीको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गौतमले सार्वजनिक पद सम्हालेको मिति २०५५ साल वैशाख ७ देखि २०७९ साल चैत २४ सम्मको अवधिमा गरेको सम्पत्ति आर्जन र खर्चको विवरण विश्लेषण गर्दा २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसा स्रोत नखुलेको देखिएको अख्तियारले जनाएको छ।

जारी अनुसन्धान अनुसार, सो अवधिमा गौतम र उनका परिवारका सदस्यहरूद्वारा पारिश्रमिक, भत्ता, जग्गा बिक्री, ऋण, शेयर, कृषि तथा अन्य वैध स्रोतबाट आर्जन भएको सम्पत्ति कूल २ करोड ८९ लाख २० हजार २६८ रुपैयाँ १८ पैसा रहेको देखिएको छ। तर, सोही अवधिमा उनीहरूद्वारा घर-जग्गा खरिद, निर्माण, सवारी साधन खरिद, बीमा, अध्ययन खर्च, सुन खरिद लगायत शीर्षकमा कूल ५ करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ ८९ पैसा खर्च तथा लगानी भएको देखिएको छ।

यस आधारमा गौतमको नाममा स्रोत नखुलेको सम्पत्तिको फरक रकम २ करोड ५१ लाख रुपैयाँभन्दा बढी देखिएपछि उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा कारबाही गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

अख्तियारले अभियुक्त गौतमले राष्ट्रसेवक पदमा रहँदा वर्षेवार विवरण पेश गर्दा वास्तविक सम्पत्ति विवरण लुकाएको र झुट्टा विवरण पेश गरेको ठहर गर्दै, थप आरोपसहित कैद, जरिवाना र सोही सम्पत्ति जफत गर्नसमेत मागदाबी गरेको छ।

विशेष अदालतले अब यस प्रकरणमा थुनछेक सुनुवाइसहित प्रक्रिया अघि बढाउनेछ। आयोगले जनताबाट विश्वास प्राप्त गरेका राष्ट्रसेवक कर्मचारीको यस्ता क्रियाकलापले सरकारी सेवा प्रणालीप्रति नागरिकको विश्वास घटाउने भन्दै कडा निगरानी जारी राख्ने जनाएको छ।

You might also like

Comments are closed.