अर्थमन्त्री खनाल र एडीबी कन्ट्री डाइरेक्टर कोस्वाबीबीच शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर आर्नो कोस्वाबीबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ ।

भेटमा कोस्वाबीले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव तथा एडीबीको सहयोगमा सञ्चालन भइरहेका कार्यक्रमहरूको निरन्तरताका विषयमा छलफल गरेका थिए । अर्थमन्त्री खनालले वर्तमान सरकारको प्राथमिकता अन्तर्गत तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने र युवाको चाहनाअनुसार सुशासन तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै, ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी र विभिन्न विकास आयोजनामा एडीबीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै चालु आयोजनाहरू निरन्तरता दिने जानकारी दिए । कोस्वाबीले नेपालमा आर्थिक विकासका क्षेत्रमा वर्तमान सरकारसँग मिलेर काम गर्न तयार रहेको स्पष्ट पारेका छन् । भेटमा अर्थसचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा समेत उपस्थित थिए ।

You might also like

Comments are closed.