पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल र पोखरा महानगरपालिकाको अग्रसरतामा कास्कीको लेखनाथस्थित साबिक नगरपालिका भवनमा सय बेड क्षमता अस्पताल स्थापना गरिने भएको छ । हस्पिटलका लागि लायन्सका डिष्ट्रिक्ट जिएसटि को–अर्डिनेटर मोहनबाबु खड्काको संयोजकत्वमा सहयोग संकलन अभियान अगाडि बढिरहेको छ ।
गण्डकी क्षेत्रमा रहेका लायन्सका लिडरहरुको समन्वयमा सहयोग संकलन भइरहेको खड्काले जानकारी दिए । अस्पताल स्थापनाका लागि पोखरा महानगरपालिकासँग समन्वय गरिएको छ । लायन्सको तर्फबाट ५० वटा बेड सोमबार हस्तान्तरण गरिने खड्काले जानकारी दिए । हस्पिटलमा ५० बेड महानगरले राख्नेछ । अक्सिजन हाइफ्लो मेशिन सहितका बेड राखिनेछ ।
यो अभियानका लागि १२ लाख रुपैयाँको प्रतिबद्धता आइसकेको छ,’ खड्काले भने, ‘सहयोग संकलन जारी छ ।’ करिब २० लाख रुपैयाँको सामान लायन्सको तर्फबाट हस्तान्तरण गरिने खड्काले जानकारी दिए । बेडसँगै अन्य आवश्यक स्वास्थ्य सामग्रीहरु सहयोग हुने खड्काले बताए ।
लायन्स अन्तर्राष्ट्रियबाट हस्पिटलका लागि भेन्टिलेटर लगायतका सामानका लागि सहयोग आउने डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले जानकारी दिए । पोखरासँगै काठमाडौंको जनमैत्री अस्पिताललाई हाइफ्लो अक्सिजन मेसिन २ थान लायन्सको तर्फबाट सहयोग गरिएको गभर्नर रोकाले जानकारी दिए ।
कोभिड समस्या अवधिभरका लागि पोखरा महानगरलाई लायन्सको तर्फबाट एम्बुलेन्ससमेत हस्तान्तरण गरिने बताइएको छ । कोभिड महामारीको समयमा लायन्सको तर्फबाट भएको सहयोग प्रशंसनीय रहेको पास्ट डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले बताए ।
Comments are closed.