पोखरा । पुस्तक प्रकाशनका लागि नेपालको अग्रणी प्रकाशन गृह युनाइटेड नेपाल पब्लिकेसन्स प्रा.लि.ले पोखरामा सञ्चालनमा आउन लागेको कोभिड डेडिकेटेड हस्पिटललाई सहयोग गर्ने भएको छ ।
पब्लिकेसन्सका शुभेच्छुक तथा सल्लाहकार स्वर्गीय पशुपति चौलागाईंको सम्मान र स्मृतिमा हस्पिटललाई १ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गर्न लागिएको प्रा.लि.का संस्थापक धनराज आचार्यले जानकारी दिए । वागमती प्रदेश सांसद चौलागाईंको कोरोनाका कारण गत साता मनमोहन हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो ।
प्रा.लि.का संस्थापक, लायन्सका पूर्व गभर्नर तथा समाजसेवी धनराज आचार्यले पोखरामा कोभिड हस्पिटल सञ्चालनका लागि अग्रसरता लिएका छन् । उनको पहलमा अन्य संघसंस्था तथा व्यावसायिक प्रतिष्ठानबाट समेत हस्पिटलका लागि सहयोग संकलन हुने क्रम जारी छ । पोखरा महानगरपालिका र लायन्सको अग्रसरतामा साविक लेखनाथ नगरपालिकाको भवनमा सय बेड क्षमताको हस्पिटल सञ्चालनको अन्तिम तयारी भइरहेको छ ।

Comments are closed.