काठमाडौं। केही दिनदेखि पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा देखिएको तनाव अन्त्य भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय, पर्सामा आयोजित सर्वपक्षीय बैठकपछि दुई पक्षबीच सहमति जुटेसँगै अवस्था सामान्य बनेको हो ।
अन्य देशहरूमा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न तनावको प्रभाव वीरगञ्जमा समेत परेको थियो, जसका कारण यहाँ पनि दुई समुदायबीच झडपको अवस्था सिर्जना भएको थियो। अवस्था बिग्रँदै गएपछि प्रशासनले सोमबारदेखि निश्चित क्षेत्रमा कर्फ्यू लगाएको थियो । आज साँझ ६ बजेसम्मका लागि जारी कर्फ्यू आदेश सहमतिपछि हटाइएको जिल्ला प्रशासनले जनाएको छ ।
सहमतिपछि जारी पत्रमा भनिएको छ, “भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक तथा सद्भावविरुद्धका गतिविधिहरूलाई नियन्त्रण गर्न र आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दल तथा विभिन्न धार्मिक समुदायका अगुवाहरू सम्मिलित स्थायी सद्भाव संयन्त्र गठन गरिएको छ।”
सहमतिअनुसार स्थायी सद्भाव संयन्त्रमा हिन्दू समुदायका तर्फबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि (शेरु) र अलि असगर मदनी रहेका छन् । साथै, आवश्यकता अनुसार अन्य धार्मिक समुदायबाट पनि प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ। संयन्त्रमा जिल्लास्थित राजनीतिक दलहरूबाट एक–एक जना प्रतिनिधि, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष, तथा नागरिक समाजका प्रतिनिधिहरू पनि समावेश रहनेछन् ।





Comments are closed.