काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा लोकप्रिय बनेको ‘करेन्ट नुडल्स’ उत्पादन गर्ने यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौं उपत्यकामा सञ्चालनमा ल्याएको छ । कम्पनीले कपनस्थित रिलायन्स कलेज नजिक नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो ।
यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटले राम्रो प्रतिक्रिया पाएपछि ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले कपनमा दोस्रो शाखा विस्तार गरेको जनाएको छ ।
नयाँ शाखाको उद्घाटनको अवसरमा ‘करेन्ट मार्ट’मा उपलब्ध सम्पूर्ण उत्पादनहरूको खरिदमा ग्राहकलाई १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
कपनस्थित ‘करेन्ट मार्ट’को उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जी.पी. शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रूपमा रिबन काटेर गरेका थिए । कार्यक्रममा कम्पनीका प्रतिनिधि, ग्राहक तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
नयाँ आउटलेटमार्फत उपभोक्ताले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण उत्पादनहरू एकै स्थानबाट प्राप्त गर्न सक्नेछन् । यहाँ ‘करेन्ट’ ब्रान्डका विभिन्न प्रकारका नुडल्स, स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोटाटो क्र्याकर्स उपलब्ध छन् । साथै चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा जिरा, धनिया र रातो खुर्सानी पाउडरजस्ता मसला पनि बिक्रीका लागि राखिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै ग्लोबल एक्जुकेटिभ डाइरेक्टर शाहले बानेश्वर शाखामा उपभोक्ताबाट प्राप्त माया र विश्वासले काठमाडौंका अन्य स्थानमा पनि सेवा विस्तार गर्ने प्रेरणा दिएको बताए । उनले कपन र आसपासका उपभोक्ताले अब आफ्नै टोलबाट ताजा तथा गुणस्तरीय उत्पादन सहज रूपमा खरिद गर्न सक्ने विश्वास व्यक्त गरे ।
सन् २०१७ मा स्थापना भएको यशोदा फुड्स प्रा. लि. नेपालका अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो। गुणस्तर र नवीनताप्रति प्रतिबद्ध कम्पनीले छोटो समयमै नेपाली उपभोक्तामाझ लोकप्रियता हासिल गरेको छ । कम्पनीले ‘करेन्ट’ ब्रान्डअन्तर्गत विभिन्न स्वादका पिरो तथा स्वादिष्ट चाउचाउ उत्पादन गर्दै आएको छ, जुन विशेषगरी युवापुस्तामाझ लोकप्रिय मानिन्छ ।
कम्पनीका उत्पादनहरू नेपालभरि बिक्री हुनुका साथै विश्वका २२ भन्दा बढी देशमा निर्यातसमेत हुँदै आएका छन् ।






Comments are closed.