विश्व दूध दिवसमा देशैभर विविध कार्यक्रम, झापामा दूध दिवसको रौनक

काठमाडौं । एनएमसी एग्रो फार्म मेचीनगर १४, दुवागढी, कोशी प्रदेश, झापामा सरोकारवाला निकायबीच विशेष कार्यक्रमसहित विश्व दूध दिवस मनाइएको छ । हरेक वर्ष जुन १ मा विश्व दूध दिवस मनाइन्छ ।

यसैक्रममा यस वर्ष राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक, डा. बालक चौधरीको सभापतित्वमा तथा कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वालाकुमारी शाहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताइन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौंदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने बताएकी हुन् ।

‘दुग्ध उत्पादक किसानहरूले चाँडोभन्दा चाँडो भुक्तानी पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं,’ उनले भनिन्, ‘मैले थुप्रै व्यावसायिक किसानको गाईगोठ र डेरी उद्योगहरू अवलोकन गरेको छु । किसानहरूले दुधको भुक्तानी नपाएको गुनासो सुनाउनु भएको छ । जसरी भए पनि भुक्तानी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

दुग्ध विकास बोर्ड सदस्य एवं नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि दूधमा आत्मनिर्भर भएरमात्र नपुग्ने र यसको विदेश निर्यात अपरिहार्य भएको बताए । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल्ले दूधबाट बनेका बस्तुहरू निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दूधको भुक्तानी गर्न कुनै समस्या नहुने र यसको लागि कोशी प्रदेश सरकारले गरेको सहयोगको प्रंशसा गरे । प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले दुग्ध पदार्थमा आधारित उद्योग सञ्चालन र बस्तु प्रबर्धनमा प्रदेश सरकारले उल्लेखनीय अनुदान दिदै आएको बताइन् ।

किसानहरूलाई दुध उत्पादनका आधारमा र व्यावसायिक कृषकहरूलाई गोठ निर्माण र आहार उत्पादनमा अनुदान दिइनु पर्ने कुरा सिडिक्यानका अध्यक्ष अमर कुँवरले बताए । दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्ध रूपमा किसानको दूधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाउँदै दुई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने जानकारी दिए । उनले दुध उत्पादक किसान र व्यवसायीका समस्या समाधानका लागि संस्थानले पहल गर्ने बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक एवं कार्यक्रमका सभापति डा बालक चौधरीले सरोकारवाला सबैलाई धन्यवाद दिंदै बोर्ड जहिले पनि दुग्ध क्षेत्रको विकास र प्रबर्द्धनमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

सो अवसरमा कोशी प्रदेशका राज्य मन्त्री सेजना राई, मेची नगरपालिका प्रमूख गोपाल चन्द्र बुढाथोकी, उपप्रमूख मीना पोखरेल, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशका सचिव डा. लेखराज दाहाल, पशुसेवा विभाग उपमहानिर्देशक डा.विनय कुमार कर्ण, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुवंर, बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, राष्ट्रिय दुग्ध विकास वोर्डका बोर्ड सदस्य सुमित केडिया, डेरी उद्योग संघका अध्यक्ष राजुमार दाहाल, केन्द्रीय पशुपंक्षी मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, नेपाल डेरी साइन्स एसोसिएसनका अध्यक्ष सियाराम प्रसाद सिंह, एनएमसीका संस्थापक रामचन्द्र उप्रेती, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष राजन चिमरिया, महासचिव हेमचन्द्र खनाल, केन्द्रीय सदस्य मनोज यादब, योगेन्द्र चिमरिया, अशेष बुढाथोकी, कोशी प्रदेश अध्यक्ष गंगा बहादुर खड्का, एनएमसीका अध्यक्ष ठाकु प्रसाद सिवाकोटी, सिईओ लक्ष्मी प्रसाद उप्रेती, राष्ट्रिय पशुपंक्षी श्रोत व्यवस्थापन कार्यालय काठमाडौंका उपसचिव रेशमराज ज्ञवाली, एनएसएल आईपीका बैकुण्ठ अधिकारी, दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्र अधिकारी, कृषि सहकारी मन्त्रालय डा. दीपा दिवाली, भेटनरी अस्पताल तथा पशुसेवा केन्द्रका शितल भट्टराई, राष्ट्रिय दुग्ध विकास वोर्डका अधिकृत एवं कर्मचारीहरु लगायत दुग्ध उद्योगीहरुको उपस्थिति थियो ।

lcci
You might also like

Comments are closed.