‘दूध किसानको बक्यौता रकम भुक्तानीमा डेरी व्यवसायी तयार’

काठमाडौं । नेपाल डेरी एसोसिएसनले दूध किसानको बक्यौता रकम भुक्तानी गर्न आफ्ना सदस्यहरु तयार रहेको जनाएको छ । साथै एसोसिएसनले विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले पनि सरोकारवालाहरुको समस्या समाधानमा सहजता सृजना गर्न पनि आग्रह गरेको छ ।

शनिबार एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल र महासचिव हेमचन्द्र खनालद्वारा जारी एक विज्ञप्तिमार्फत एसोसिएसनले किसानको बाँकी रकमबापतको अर्बौं रुपैयाँ भुक्तानीका लागि सरकारलाई आग्रह गरेको हो ।

एसोसिएसनले कृषि तथा पशुपन्छी क्षेत्रले गर्दा नेपालको आर्थिक र सामाजिक रूपान्तरणमा ठूलो टेवा पुगेको जनाएको छ । यस क्षेत्रले ६ लाख कृषक परिवार ४५ हजार उद्योग क्षेत्रमा रोजगारी दिनुका साथै दैनिक ६ करोडभन्दा बढी नगद सहरबाट गाउँसम्म प्रवाह गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

राज्य कोषमा वार्षिक २ अर्ब भन्दा बढी राजस्व संकलन हुने तथा पूर्ण पौष्टिक आहारको पूर्णता लगायत धेरै योगदान सहितको भूमिका दुग्ध क्षेत्रले खेलेको एसोसिएसनले जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिडपछि संसारभरि आर्थिक मन्दी बढ्दा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । बजारको माग घट्दै जाँदा दूध तथा दुग्ध पदार्थको उपभोगमा कमी आउन थालेको थियो ।जसले गर्दा कृषकले उत्पादन गरेको दुध र उपभोगको अन्तर बढ्दै जाँदा उद्योगसँग रहेको धुलो दुध र बटरको मौजदात बढ्दै गयो र हालको परिस्थिति उत्पन्न भएको एसोसिएसनको भनाइ छ । ‘कृषकहरूको दुध उत्पादन गरी भुक्तानी गर्नुपर्ने कुराको संवेदनशीलता हामीले बुझ्दा बुझ्दै पनि असहज परिस्थितिका कारण हालको अवस्थामा छौँ ।’

आर्थिक वर्ष २०८१÷८२ को बजेटमा नेपाल डेरी एसोसिएसनले दुग्ध पदार्थमा ५० प्रतिशत भ्याट रिबेट, प्याकेजिङ र स्पेयर पार्ट्समा एक प्रतिशत भन्सार दर, कृषि कर्जाको निरन्तरता, बिजुलीमा ५० प्रतिशत छुट लगायत माग राखेकोमा सम्बोधन नभएको एसोसिएसनले विज्ञप्तिमार्फत जनाएको छ । ‘जसकारण उत्पादन लागत घटाउन नसकिएको र उपभोग समेत बढ्न नसकेको एसोसिएसनको भनाइ छ । यी यस्ता विविध कारण हुँदा हुँदै पनि योभन्दा अगाडि किसानलाई दिनुपर्ने ७ अर्बमा घटाउँदै घटाउँदै अब बाँकी ४ अर्ब रुपैयाँ मात्र रहनुले पनि भुक्तानी बिस्तार भइरहेको एसोसिएसनको दावी रहेकोछ । ‘किसानलाई भुक्तानीमा साथ दिई दुग्ध किसानहरूलाई पूर्ण साथ दिई आगामी दिनमा यसरी सडकमा आउन नपर्ने गरी सबै समस्या हल गर्न सरकार एवं सरोकारवाला सबैलाई अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

lcci
You might also like

Comments are closed.