दूध तथा दुग्ध पदार्थको आयात नखोल्न दबाब दिदै नेपाल डेरी एसोसिएसन

काठमाडौं । नेपाल डेरी एसोसिएसनले भारतबाट दूध तथा दुग्ध पदार्थ आयात खोल्न नहुने माग गरेको छ । बिगतमा सहज रुपमा दूध तथा दुग्ध पदार्थ आयात हुँदै आइरहेकोमा कृषि तथा पशुपन्छी मन्त्रालयले २०८० फागुन ३ गतेदेखि सहज परिस्थिति नहुने समयसम्मका लागि दूध तथा दुग्ध पदार्थ आयात बन्द गरेको थियो ।

नेपालमा दूध उत्पादन प्रशस्त भइरहेको र बटर तथा पाउडर दूध स्टक रहेकाले तत्काल आयात खोल्न नहुने एसोसिएसनको माग छ । नेपाली किसान तथा व्यवसायीलाई नै प्रवर्द्धन गर्नुपर्ने आफूहरुको माग सरकारसँग रहेको अध्यक्ष प्रल्हाद दाहाल बताउँछन् ।

यसैक्रममा एसोसिएसनको टोलीले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, उद्योग मन्त्री दामोबार भण्डारी लगायतलाई भेटेर सो विषयमा छलफल गरेको छ ।

यसैबीच एसोसिएलने विज्ञप्ति जारी गरी आयात नखोल्न माग गरेको छ ।

विज्ञप्तिको पूर्ण पाठ

प्रेस विज्ञप्ती

बिगत लामो समयदेखि विभिन्न किसिमका समस्याका बावजुद पनि डेरी सेक्टर सबैको सहयोगमा हालसम्म जेनतेन टिकेको अबस्था छ । २०७२ सालको भूकम्प, २०७५÷७६ को कोभिड, २०७९÷८० को लम्की स्किन डिजिज, लामो समयसम्मको आर्थिक मन्दिर, हालसालै २०८१ को बाढी पहिरो लगायतका धेरै समस्या एकै पटक डेरी सेक्टरमा आएका कारण हाल डेरी क्षेत्र थलिएको अवस्था छ । यस्तो अवस्थामा दूध तथा दूधजन्य पदार्थको खपत कम हुनु स्वभाविक नै हो । स्टक बढी भएर डेरी उद्योगको चालु पुँजी सकिन पुग्दा समयमा किसानको भुक्तानी गर्न नसकेर किसान र उद्योगले ठूलो समस्या भोग्नु परेको अवस्था छ ।

नेपालमा विभिन्न देशबाट विभिन्न दुग्ध पदार्थ आयात हुने गरेको तथ्य हामी सबैलाई अबगत नै छ । स्वदेशी उत्पादन खपत नहुने र आयातीत दुग्ध पदार्थले बजार ओगटेका कारण सो कुरालाई मध्यनजर गरी सरकारले स्वदेशी उद्योग र किसानको हितका लागि कृषि तथा पशुपन्छी मन्त्रालयबाट २०८० फागुन ३ गतेदेखि सहज परिस्थिति नहुने समयसम्मका लागि दूध तथा दुग्ध पदार्थ आयात बन्द गरेको थियो । तर हाल आएर विभिन्न बहानाबाजी गरी यहाँ दूध तथा दुग्ध पदार्थ आयात बन्द हुँदा नेपालबाट भारत निर्यात हुँदै आएका विभिन्न स्वदेशी नेपाल उत्पादित वस्तुहरू निर्यातका लागि भारतले अप्ठ्यारो पारेको र दूध तथा दूधजन्य पदार्थ आयातमा लगाइएको रोक तत्काल फिर्ता हुने कुरा विभिन्न समाचार माध्यममा प्रकाशित भएको खबरले हाल पनि अर्बौंको बटर, धुलो दूध, चिज आदि थन्किएर बसेको अवस्थामा दुधसँग सरोकार राख्ने सबै दुग्ध क्षेत्रका सरोकारवालाहरु अत्यन्तै मर्माहत भएको अवस्था छ ।

हाल सरकारले आयात बन्द गरेता पनि आयातको सरकारी तथ्यांक हेर्दा साउन महिनामा मात्र बटर ४८ हजार केजी, चिज ८ हजार ५० केजी, अन्य डेरी जन्य पदार्थ १२ हजार ६ सय केजी आयात भएको तथ्यांकले देखाउँछ । त्यस कारण नेपाल सरकारले नेपालमा ५० अर्ब निजी लगानी भएको डेरी उद्योग, ६ लाख कृषक परिवारले प्रत्यक्ष रोजगारी पाएको क्षेत्र, करिब ५० हजार उद्योग क्षेत्रमा रोजगारी प्राप्त गरेको क्षेत्रको हित र संरक्षण गर्नका लागि देशमा दूध तथा दुग्ध पदार्थको बजार सहज नहुन्जेल र स्टक नसकिन्जेलसम्म कुनै पनि बहानामा आयात खुल्ला गर्नु भनेको नेपाली डेरी उद्योग र दुग्ध किसानलाई यो पेसाबाट पलायन गराउनु हो । त्यस अर्थमा आशा छ उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यो कुरालाई विशेष महत्व दिई दूध तथा दुग्ध जन्य पदार्थ तत्कालका लागि पूर्ण रुपमा आयात बन्द गरि नेपाली दुग्ध किसान र डेरी उद्योगलाई बचाउन विनम्र अनुरोध गर्दछ ।

प्रल्हाद दाहाल
अध्यक्ष
२०८०/७ /६

You might also like

Comments are closed.