काठमाडौं । ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रा.लि. संचालनमा आएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका –२ वालकोटमा ‘ओडिएको पुष्टी, स्वाद र सन्तुष्टी’ नाराका साथ स्थापित उद्योगको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
भक्तपुर क्षेत्र नम्बर २ का संघीय सांसद दुर्लभ थापाले डेरी उद्योगको उद्घाटन गरेका हुन् । नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमला लगायतको टीमले संचालन ल्याएको उक्त उद्योगले दूधजन्य पदार्थ उत्पादन र बजारीकरण गर्ने लक्ष्य लिएको छ ।
दूधजन्य पदार्थको विविधीकरण हुन नसकेका कारण पछिल्लो समय डेरी उद्योगहरुले उत्पादन गरेको धुलो दूध तथा बटर लगायतका वस्तु बिक्री हुन सकेको छैन । जसका कारण दुग्ध किसानको भुक्तानीमा समस्या देखिएको छ । सोही अवस्था अध्यनजर गर्दै ओखलढुंगे डेरी एण्ड एग्री फुडले दूध, दही, पनिर, वटर घ्युका साथै खुवा, रसभरी, लालमोहन, आइशक्रिम, कुल्फी, खुवा, भुजिया, पनिर मःम, गुदपाक, पुष्टकारीलगायका उत्पादन सुरु गरेको छ ।
सञ्चालनमा आएको उद्योगबाट दैनिक पाँच हजार लिटर दूध खपत हुने र १० देखि १५ जनासम्म प्रत्यक्ष रुपमा रोजगारीे सिर्जना हुने प्रालिका अध्यक्ष धमालाले जानकारी दिए । उद्योगबाट दैनिक तीन लाख ५० हजार नगद कारोबार ग्रामीण क्षेत्रमा प्रवाह हुने धमलाले जानकारी गराए । स्वदेशका युवालाई प्रेरणा दिन, स्वदेशी उत्पादन उपभोग गर्न, स्वदेशी अर्थतन्त्र बलियो बनाउने कार्यमा उद्योगले सहयोग पु¥याउने विश्वास लिइएको उनले बताए ।
डेरीको उद्घाटनका अवसरमा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले फरक ढंगबाट स्थापना भएको डेरी उद्योगले फरक पहिचान सहित बजारमा आफ्नो स्थान जमाउने विश्वास व्यक्त गरे । राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा. राजेन्द्र यादबले लामो अनुभव बटुलेका संचालक धमालाले यो उद्योग धेरै सुझबुझका साथ स्थापना गरेको र बोर्डको तर्फबाट गर्नुपर्ने साथ र रहने बताए ।
सूर्यविनायक नगरपालिका वडा २ का वडाध्यक्ष प्रतित कार्कीले आफ्नो वडामा यसरी उद्योग स्थापना भएकोमा खुशी लागेको र उद्योगलाई आवश्यक सहयोग गर्ने कुरा बताए । पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहालले अब उद्योगले अरु उद्योगको जस्तै उत्पादन नगरि अब फरक फरक उत्पादनमा जान जरुरी भएको समयमा यो उद्योगले लिएको बाटो ठिक भएको बताए ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति डि.बी बस्नेतले अब समयको मागसँगै यसरी आधुनिक उद्योग स्थापना हुन राम्रो पक्ष रहेको धारणा राखे ।
प्रमुख अतिथि सांसद थापाले उद्योग प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका पदाधिकारी, दुग्ध उद्योगी, किसान, छरछिमेकी, पत्रकारहरुको उपस्थिति थियो ।
Comments are closed.