सरोकारबालाबाट आएका सुझाव मन्त्री भुसाललाई हस्तान्तरण, कार्यान्वयनमा जोड

काठमाडौं । नेपाल डेरी एसोसिएसनले गत शुक्रवार आयोजना गरेको ‘वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान’ विषयमा सरोकारबालाहरुसँग आयोजना गरेको अन्तरक्रियाबाट आएका सुझावहरू कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललाई बुझाएको छ ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमाल र डेरी विज्ञ सुवास ढकाल सहितको टोलिले सुझाव पत्र मन्त्री भुसाललाई बुझाएको हो ।

भेटघाटमा एसोसिएसनका अध्यक्ष दाहालले पछिल्लो समय दूध तथा दुग्धजन्य पदार्थको बजार प्रबर्द्धनका लागि एसोसिएसनले पनि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू संचालन गर्दै आएको मन्त्री भुसाललाई जानकारी गराएका थिए ।

एसोसिएसनले दूध तथा दुग्धजन्य पदार्थको खपत बढाउन सेना, प्रहरीका खाना, विद्यार्थीको खाजा, खेलाडीको खानामा अनिवार्य रूपमा दूध दुग्धजन्य पदार्थ समावेश गरिनुपर्ने मन्त्री भुसालसँग माग गरेको छ । एसोसिएसनले गर्ने हरेक किसिमका कार्यक्रममा मायाको चिनो स्वरुप दुग्ध पदार्थ वितरण गर्ने गरिएको कुरा उपाध्यक्ष दिप प्रसाद धमलाले बताए ।

अध्यक्ष दाहालले भने, ‘हामीले आज उहाँको निवासमा पुगेर उक्त सुझावहरू बुझाएका छौँ । उहाँ पनि पछिल्लो समय दुग्ध क्षेत्रमा देखिएको समस्या समाधान गर्न तर्फ सकारात्मक हुनुहुन्छ । तर अब नतिजा नआएसम्म जसले जे नै गरेको भए पनि पत्याउन नसकिने अवस्था रहेको कुरा हामी सबै सरोकारवालालाई महसुस भएको कुरा हो ।’

You might also like

Comments are closed.