नेपाली घ्यु जापान निर्यात

बिराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज प्रा.लि.ले उत्पादन गरिरहेको घ्यु जापान निर्यात गर्न शुरू गरेको छ । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा प्रालिले जापानमा घ्यु निर्यात सुरु गरेको हो ।

सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज जापान घ्यू निर्यात गर्ने कोशी प्रदेशबाट निजी क्षेत्रको पहिलो उद्योग बनेको छ । निर्यातलाई निरन्तरता दिन उद्योगलाई आग्रह गर्दै मन्त्रालयका सचिव लेखनाथ दाहालले मन्त्रालयको सधैं साथ र सहयोग रहने बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सचीव लेखनाथ दाहाल, पूर्व प्रदेश सभासद जयराम यादव, नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, सरकारी कर्मचारी, डेरी उद्योगका संचालकहरु, कर्मचारी एवं पत्रकारहरुको उपस्थितिमा घ्यु निर्यातको औपचारिक शुभारम्भ गरिएको हो ।

उद्योगले जापानको एक निजी कम्पनीसँग एक वर्षमा ५० हजार केजी घ्यू बिक्री गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको उद्योगका संचालक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य मनोज कुमार यादबले जानकारी गराए । सम्झौता पत्र अनुसार उद्योगले पहिलो चरणमा ५ हजार केजी परम घ्यू सहित चिउरा, चियारंग, मह जापान पठाउनेछ । उद्योगले घ्यू जापान निर्यात गर्दा कोशी प्रदेश सरकारले प्रत्येक केजी घ्यूमा १ सय २० रुपैयाँ अनुदान दिनेछ । आगामी दिनमा पनि यस्ता कार्यक्रममा निरन्तरता दिने मुख्य मन्त्री कार्कीले बताए ।

प्रदेश सरकारले यसरी निर्यातमा सहयोग पु¥याएकोमा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले धन्यवाद दिंदै वार्षिक ३ अर्ब निर्यात हुने कोशी प्रदेशको मौलिक उत्पादन छुर्पी उत्पादनलाई राज्यले प्रोत्साहन गर्न र प्याटर्न राइट लिन पहल गरिदिन पनि मुख्य मन्त्री कार्की र सचीव दाहाललाई आग्रह गरे ।

विगत दुई वर्ष यता दूध तथा दुग्ध पदार्थको उपभोग कम भएर स्टक रहँदा नेपाल डेरी एसोसिएसन बजार खोज्ने क्रममा बंगला देश, श्रीलंका, तिब्बत, भुटान लगायतका ठाउँमा पुगेको अध्यक्ष दाहालले जानकारी दिए ।

नेपाली बजारमा परम घ्यू प्रति केजी मूल्य १ हजार १ सय रुपैयाँ छ । विराटनगरका स्थानीय अनुजकुमार यादव, मनोजकुमार यादव, प्रेमकुमार राठी र गुरुप्रसाद अधिकारीले विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित जतुवामा ३० करोड रुपैयाँ लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका हुन् । साढे ६ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण गरिएको उद्योगमा धुलो दूध, दूध र घ्यू गरी ३ बेग्ला बेग्लै प्लान्ट सञ्चालनमा छन् ।

२०७६ सालमा स्थापना भएको उद्योगले ५ वर्षपछि आफ्नै उत्पादन परम घ्यू जापान निर्यात गर्न सफल भएको छ । उद्योगले उत्पादन गरी रहेको दुग्धजन्य पदार्थमा कोशी प्रदेश सरकारको अनुदान छ । तर अनुदान रकमले मात्रै उत्पादित दुग्धजन सामग्री जापान निर्यात गर्न सक्ने अवस्था नरहेको उद्योगका सञ्चालक समिति सदस्य मनोजकुमार यादवले बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार निर्यात हुन लागेको पदम घ्यूको शुभारम्भ गर्दै प्रदेश सचिव लेखनाथ दाहाललाई उद्योगबाट उत्पादित अन्य दुग्धजन सामग्रीमा अनुदानको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

lcci
You might also like

Comments are closed.