पाँचथरमा आगलागीबाट ३५ लाख क्षति, डेरी एसोसिएसनद्वारा सहयोग हस्तान्तरण

पाँचथर । मिक्लाजुङ गाउँपालिका–३ नागी निवासी तथा नेपाल डेरी एसोसिएसन का सदस्य भिमबहादुर मगरको घरमा केही दिनअघि विद्युत सर्ट भई भीषण आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ ।

लाङ्गाली डेरी उद्योग सञ्चालन गर्दै आउनुभएका मगरको दुई वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । आगलागीबाट घिउ, छुर्पी, नगद तथा अन्य सामान जलेर नष्ट भएको एसोसिएसनका कोशी प्रदेश अध्यक्ष गंगा बहादुर खड्काले जानकारी दिए ।

घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल डेरी एसोसिएसन पाँचथर को अगुवाइमा जिल्लाभित्रका विभिन्न डेरी उद्योग तथा व्यवसायीहरूबाट सहयोग संकलन गरिएको थियो । संकलित रकममध्ये जम्मा १ लाख ३० हजार २३० रुपैयाँ नेपाल डेरी एसोसिएसन पाँचथरका जिल्ला अध्यक्ष मनिस घिसिङको हातबाट पीडित परिवारलाई हस्तान्तरण गरिएको जिल्ला सचिव गोपाल रिजालले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले संगठन सधैं आफ्ना सदस्यहरूको हित, संरक्षण र संकटका बेला साथ दिने उद्देश्यका साथ सक्रिय रहँदै आएको बताए। उनले अप्ठ्यारो परिस्थितिमा एकअर्काको सहारा बन्नु नै संगठनको मुख्य दायित्व भएको उल्लेख गर्दै कठिन समयमा सहयोग जुटाउने जिल्ला समिति तथा सबै डेरी व्यवसायीप्रति आभार व्यक्त गरे। साथै, आगामी दिनमा पनि आपसी सहयोग र एकताको भावना कायम राख्न सबै सदस्यलाई आग्रह गरे ।

त्यस्तै, केन्द्रीय महासचिव हेमचन्द्र खनालले सदस्यहरूको हकहित तथा व्यवसायिक सुरक्षाका लागि एसोसिएसन निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्ने सम्पूर्ण डेरी व्यवसायी तथा सहयोगदाताप्रति धन्यवाद व्यक्त गरे ।

एसोसिएसनले पीडित परिवारको शीघ्र पुनर्स्थापनाका लागि आवश्यक साथ र सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

You might also like

Comments are closed.