दमकको इलाका प्रहरी कार्यालय पुनः निर्माणमालाई डेरी व्यवसायीहरुको साथ

दमक । झापाको दमकमा रहेको इलाका प्रहरी कार्यालय पुनः निर्माणका लागि त्यस क्षेत्रका डेरी व्यवसायीहरुले सहयोग गर्ने भएका छन् । जेन जी आन्दोलनका क्रममा २४ गते आन्दोलनकारीले प्रहरी कार्यालयमा आगो लगाइदिएका थिए । उक्त क्रममा कार्यालय पूर्ण क्षति भएर पुनःनिर्माण गर्नुपर्ने अवस्थामा पुगेको छ ।

दमक उद्योग वाणिज्य संघले दमक प्रहरी भवनको पुनः निर्माणका लागि सहयोग अभियान सुरु गरेको छ । उक्त अभियानलाई साथ दिनका लागि डेरी एसोसिएसन दमकको तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्न लागिएको नेपाल डेरी एसोसिएसनका महासचिव एवं स्थानीय डेरी व्यवसायी हेमचन्द्र खनालले जानकारी दिए ।

जनताको शान्ति सुरक्षाका लागि रातदिन खटिने प्रहरी बस्ने कार्यालयमा नै आगो लगाउने काम हुनु दुखद घटना भएको व्यवसायीहरु बताउँछन् । प्रहरीलाई सेवामा आउन सजिलो होस् र कार्यालय पुनःनिर्माण होस् भन्ने उद्देश्यले स्वतस्फूर्त रुपमा सहयोग घोषणा हुने क्रम जारी छ ।

दमक उद्योग वाणिज्य संघले ५ लाख रुपैयाँ सहयोग घोषणा गरेर सहयोगका लागि अपिल समेत गरेको छ । एक करोड रुपैयाँ भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

You might also like

Comments are closed.