बुटवल । नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशले नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट जारी भएका दूध तथा दुग्ध पदार्थ सम्बन्धी नीति, निर्देशन र कार्यविधिहरूलाई तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरेको छ । बजारमा स्वस्थ र मापदण्ड पुगेका दुग्धजन्य पदार्थ मात्र बिक्री वितरण सुनिश्चित गर्न यो कदम चालिएको अध्यक्ष थानेश्वर न्यौपानेले जानकारी दिए ।
उपभोक्ताहरूलाई गुणस्तरीय वस्तु उपलब्ध गराउन र बजारलाई व्यवस्थित बनाउन आफूहरु सक्रिय रहेको न्यौपानले बताए । दूधको उत्पादन लागतका आधारमा उचित मूल्य कायम गर्ने, प्रदेशभर दुग्ध पदार्थको मूल्यमा हुने उतारचढावलाई रोकी एकरुपता ल्याउने, गुणस्तरमा कुनै सम्झौता नगरी बजारमा स्वच्छ दुग्ध उत्पादनहरू पु¥याउने लगायत निर्णय एसोसिएसनले गरेको छ ।
‘हामीले बजारमा स्वच्छ र गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउन सरकारी मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका छौँ । लागत मूल्यका आधारमा मूल्यमा एकरुपता ल्याउँदा किसान र उपभोक्ता दुवैलाई न्याय हुनेछ,’ अध्यक्ष थानेश्वर न्यौपानेले भने ।
यसैबीच, एसोसिएसनको लुम्बिनी प्रदेशले वार्षिक टेबल क्यालेन्डर समेत सार्वजनिक गरेको छ । अग्रज दुग्ध व्यवसायी दयाराम भण्डारी, एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष शिव भुसाल लगायतले उक्त अवसरमा धारणा राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव विजय साकोटाले गरेका थिए ।






Comments are closed.