दरम खोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं ।  दरम खोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिन आज असार २३ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यो आईपीओ ल्याएको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ। जसमध्ये १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित मुसीकोट नगरपालिका (गुल्मी), गल्कोट नगरपालिका र बडीगाड गाउँपालिका (बाग्लुङ) का स्थानीयवासीका लागि छुट्याइएको छ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार ९५० कित्ता शेयर छुट्याइएको छ। कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषका लागि पनि निश्चित शेयर सुरक्षित गरिएको छ।

न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने यो आईपीओको मूल्य प्रतिकित्ताको १०० रुपैयाँ निर्धारण गरिएको छ।

कम्पनीको ९.६ मेगावाटको जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३८ करोड रुपैयाँ अनुमान गरिएको छ भने प्रतिमेगावाट लागत २५ करोड रुपैयाँ रहेको छ। परियोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २८ वर्ष बाँकी छ।

दरम खोला हाइड्रो इनर्जीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले “आइआरएन डबल बी माइनस” रेटिङ दिएको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले तोकिएका शाखा तथा पावरहाउसबाट २ रुपैयाँ शुल्क तिरेर आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले सबै सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको जिम्मेवारी लिएको छ।

You might also like

Comments are closed.