ड्याटसनको रेडी–गो नयाँ अवतारमा आउँदै

काठमाडौं । ड्याटसनले आफ्नो सानो कार रेडी–गोलाई नयाँ अवतारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले छिट्टै नै सो कार लन्च गर्दैछ । कम्पनीले ड्याटसन रेडी–गो फेसलिफ्टको टिजर तस्बिर जारी गरेको छ । तस्बिरका अनुसार कारको लुकमा धेरै परिवर्तन हुने अनुमान गर्न सकिन्छ ।

नयाँ ड्याटसन रेडी–गो को प्रतिस्पर्धा मारुती अल्टो र रेनो क्विड जस्ता इन्ट्री लेवलका साना कारसँग हुनेछ । ड्याटसनका अनुसार नयाँ रेडी–गो बोल्ड र स्पोर्टी लुकमा उपलब्ध हुनेछ । टिजर तस्बिर अनुसार यसको फ्रन्ट लुक विल्कुलै नयाँ हुनेछ । यसको ग्रिल पनि हालको मोडल भन्दा ठूलो हुनेछ । यसका कारण फ्रन्ट लुक बोल्ड देखिन्छ । ग्रिलको दुवैतिर एल आकारको डेटाइम रनिङ लाइट उपलब्ध छ । यसको फ्रन्ट बम्पर र हेडल्याम्प पनि नयाँ छ ।

दोस्रो टिजर तस्बिरमा कारको प्रोफाइल देखिन्छ । यसमा टेललाइट छैन । पछिल्लो भागमा इन्टिग्रेटेड स्पोइलर छ, जसले गर्दा यसको डिजाइनमा स्पोर्टीनेस देखिएको छ । साइडको फेन्डरमा ड्याटसनको बेजिङ छ ।

ड्याटसनले कारको फिचर, इन्जिन र भेरिएन्ट आदिको वारेमा विस्तृत विवरण सार्वजनिक गरेको छैन । यसको इन्जिन र फिचर लिष्ट हालको मोडल जस्तै नै हुने अनुमान छ । यद्यपि यसमा केही नयाँ फिचर पनि सामेल हुन सक्छ ।

हाल नेपाली बजारमा समेत ड्याटसन रेडी–गो कार उपलब्ध छ । यो नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो कार समेत हो । यो दुई इन्जिन अप्सन ८०० सीसी र १।० लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ । यसमा ५–स्पिड म्यानुअल गियरबक्स उपलब्ध छ ।

८ सय सीसी रेडी–गो को मूल्य १९ लाख ९९ हजार रुपैयाँ छ । त्यसैगरी १।० लिटरको मूल्य २१ लाख ९९ हजार रुपैयाँ छ । नयाँ मोडलको मूल्य भने यो भन्दा केही महंगो हुनेछ । भारतीय बजारमा आए पछि नेपाली बजारमा पनि सो गाडी केही समय पछि उपलब्ध हुनेछ ।

You might also like

Comments are closed.