काठमाडौं । नेपालको अटोमोबाइल व्यवसायमा दीपक अग्रवालको नाम आम व्यवसायीमाझ परिचित छ । जगदम्बा मोटर्सले नेपालमा बिक्री वितरण गरिरहेको टिभिएस टु ह्विलर ब्राण्डलाई लिड गरिरहेका अग्रवाल झण्डै २ दशकदेखि अटोमोबाइल व्यवसायमा समर्पित भएर लागेका छन् । टिभिएसलाई नेपालमा उत्कृष्ट टु ह्विलर्स ब्राण्डमा स्थापित गराउन सफल अग्रवालकै नेतृत्वमा गत वर्षदेखि नेपालमा प्रोटोन गाडी पनि बिक्री भइरहेको छ । थ्री ह्विलर्समा टिभिएस किङ र एडनोक ब्राण्डको लुब्रिकेन्टस्को व्यावसायिक नेतृत्व पनि उनै अग्रवालले प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स अन्तर्गत रहेर गरिरहेका छन् ।
टिभिएस ब्राण्डलाई उचाईमा पुर्याउन सफल अग्रवाल कामप्रति निकै लगनशील र प्रतिबद्ध छन् । आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने अग्रवाल साथीभाइसँग मीलनसार पनि त्यतिकै छन् । आफूले लिड गरेको ब्राण्डका डिलरहरुसँग सुमधुर सम्बन्ध राख्दै व्यवसाय विस्तार गर्न सफल उनी व्यावसायिक हकहित तथा सामाजिक क्षेत्रमा पनि आफूलाई स्थापित गराउनुपर्छ भन्ने मान्यता राख्दै आएका छन् ।
देशभरका अटोमोबाइल व्यवसायीहरुसँग सुखदुखको सारथी बन्ने सोचका साथ उनी अटो व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा समेत आबद्ध छन् । उनी नाडाको बर्तमान कार्यसमितिमा कार्यकारिणी सदस्य भएर काम गरिरहेका छन् । उनले आगामी कार्यकालका लागि पनि सोही पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
मंसिर २२ र २३ गने हुने नाडाको वार्षिक साधारणसभा तथा अधिवेसनबाट नयाँ कार्यसमिति निर्वाचित हुनेछ । यस पटक नाडामा ३ हजार १ सय भन्दा बढी सदस्य आबद्ध छन् । नाडाका प्राय सबै सदस्यबाट आफूलाई मत प्राप्त हुनेमा विश्वस्त रहेको अग्रवाल बताउँछन् । आगामी कार्यसमितिमा उनलाई पदाधिकारीको सशक्त दावेदारका रुपमा समेत हेरिएको छ । पदाधिकारी बनेर नाडामा योगदान पुर्याउनका लागि भने उनले कार्यसमिति सदस्यमा विजयी हुनै पर्नेछ । अग्रवालले अध्यक्षका उम्मेदवार ध्रुवबहादुर थापाको प्यानलबाट आफूलाई चुनावी मैदानमा प्रस्तुत गरेका छन् ।
Comments are closed.