काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको दशौं वार्षिक साधारण सभा राजधानीमा सम्पन्न भएको छ । साधारण सभाले दीपक कुमार मल्होत्राको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
साधारण सभाको प्रारम्भमा अध्यक्ष दीपक कुमार मल्होत्राले उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गरे । त्यसपछि उपाध्यक्ष सञ्जय अग्रवालले एशोसिएसनको वार्षिक कार्यप्रगति विवरण तथा कोषाध्यक्ष प्रभाकर शम्शेर थापाले वार्षिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए । सभामा सदस्यहरूले एशोसिएसनको कार्यसम्पादन, मोबाइल फोन व्यवसाय क्षेत्रमा देखिएका समसामयिक चुनौती, व्यवसायीका साझा समस्या तथा एशोसिएसनको आगामी कार्यदिशाका सम्बन्धमा आफ्ना धारणा, सुझाव तथा विचारहरू प्रस्तुत गरेका थिए । साधारण सभापश्चात् सम्पन्न निर्वाचन प्रक्रियाबाट नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा प्रभाकर शम्शेर थापा तथा कोषाध्यक्षमा रक्षित कुमार भिमसारिया चयन भए । सञ्चालक सदस्यहरूमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेश कुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना र अनमित्र शर्मा सर्वसम्मत भएका छन् ।
निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष दीपक कुमार मल्होत्राले एशोसिएसनलाई सर्वसम्मत रूपमा नयाँ नेतृत्व प्रदान गर्न सहयोग गर्ने सम्पूर्ण सदस्य तथा पदाधिकारीहरूप्रति आभार व्यक्त गरे । उनले मोबाइल फोन व्यवसायलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी र उत्तरदायी बनाउन तथा व्यवसायीका साझा समस्याहरूको समाधानका लागि सम्बन्धित सरकारी निकाय र सरोकारवाला पक्षहरूसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, नवनिर्वाचित उपाध्यक्ष सञ्जय अग्रवालले एशोसिएसनको संस्थागत सुदृढीकरणसँगै मोबाइल फोन व्यवसाय क्षेत्रको दिगो विकास र व्यवस्थित बजार निर्माणलाई प्राथमिकतामा राखेर आगामी कार्य अघि बढाउने बताए । उनका अनुसार मोबाइल फोनको वितरण प्रणाली तथा बजार व्यवस्थापनमा सुधार, अवैध पैठारी (ग्रे मार्केट) नियन्त्रण तथा एमडिएमएसको प्रभावकारी प्रवद्र्धन, छाता सङ्गठनहरूसँग समन्वय तथा सहकार्य, व्यवसायीको हकहित संरक्षण र उपभोक्ता हितको प्रवद्र्धन एशोसिएसनका प्रमुख प्राथमिकता रहनेछन् । व्यवसाय क्षेत्रका चुनौतीहरू समाधान गर्न निजी क्षेत्र, सरकारी निकाय तथा सम्बन्धित सरोकारवालाबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै मोबाइल फोन व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन एशोसिएसनले सक्रिय भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।





Comments are closed.