दीपक तिमिल्सिना
अध्यक्ष
सिटी रेवान, पोखरापोखरा नगर रेष्टुरेन्ट तथा बार एशोसिएसन (सिटी रेवान) पोखराको आयोजनामा फागुन २३ देखि २५ गतेसम्म पोखरामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल हुनेभएको छ । पोखराको सिर्जनाचोकदेखि आलुमाइलाचोकसम्मको सडकमा आयोजना गरिने महोत्सवको तयारीलाई तिब्र बनाइएको छ । व्यापार तथा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आयोजित फेस्टिवलका विविध विषयमा केन्द्रित रहेर सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनासँग आर्थिक आवाजले गरेको कुराकानीः
सिटी रेवान फुड फेस्टिवल कहिलेदेखि कहाँ हुँदैछ ?
सिटी रेवान फुड फेस्टिवल यहि फागुन २३ गतेदेखि हुँदैछ । फागुन २५ गतेसम्म हुने फेस्टिवल पोखराको सृजनाचोकदेखि आलुमाइला चोकसम्मको खुल्ला सडकमा हुनेछ ।
फेस्टिवलमा के–के गतिविधि हुन्छ ?
फेस्टिवल खानासँग सम्बन्धित भएकाले हामीले खानालाई नै फोकस गर्दैछौं । यसमा हामीले खानाका परिकारहरु पस्कन्छौं । दर्शकले चाहेको खानाका परिकारहरु रोजेर खान पाउँछन् । फेस्टिवलमा बार्बिकी विशेष आकर्षणका रुपमा रहन्छ । फेस्टिवलको अवसरमा रोडमै स्टल राखेर विभिन्न रेष्टुरेण्टहरुले सिंगै बँदेल बार्बिकी गर्ने, त्यसको स्वाद चखाउने, अन्य चिकन, मटन, पोर्कको लाइभ बार्बिकी गर्नेछौं ।
फेस्टिवलमा कुनकुन जातीय संस्कृतिका परिकारहरु पस्कदै हुनुहुन्छ ?
हामी नेवारी, थकाली, मगर, गुरुङ लगायतका जातिहरुको संस्कृतिका परिकारहरु फेस्टिवलमा पस्किदैछौं । नेवारी खाना र खाजा सेट, थकाली खाना, मगर र गुरुङ जातिको खाना, थारु खाना विशेष रुपमा हामी पस्किदैछौं । त्यस्तै मालपुवा, चुकौनी, कोदोको केक, खिर, फापरको रोटी, फापरको मःम, मकैकोे ढिंडो, कोदोको ढिंडो, पदिनाको चटनी, सिल्टुङको अचार, बारा, वटुक, थारु कल्चर अनुसार भुड्कोमा पकाएको मासुको स्वाद फेस्टिवलमा चखाउँछौं ।
सडकको खानामा गुणस्तर कस्तो हुन्छ ?
खानाको गुणस्तरमा सम्झौता हुँदैन । हामी खानाका हरेक परिकारमा गुणस्तर कायम गर्छौं । त्यतिमात्र होइन हामीले हाइजेनिक बनाउने पनि प्रयास गर्छौं ।
सांस्कृतिक कार्यक्रम पनि हुन्छ ?
हो, हामी फेस्टिवलमा सांस्कृतिक कार्यक्रम पनि गर्छौं । आएका दर्शकले खानाका परिकारसँगै गीत÷संगीत सुनेर भरपुर मनोरञ्जन लिउन् भन्ने हाम्रो उद्देश्य हो । मनोरञ्जनका लागि मात्र नभई संस्कृति संरक्षण गर्नेपनि उद्देश्य भएकाले सांस्कृतिक कार्यक्रमलाई हामीले विशेष महत्व दिएका छौं । यही अभियान अन्तर्गत हामीले रत्यौली प्रतियोगिता पनि गर्दैछौं । लोपोन्मुख रत्यौलीको जगेर्ना गर्नका लागि रत्यौली प्रतियोगिता आयोजना गरेका हौं । हास्यव्यंग्य प्रस्तुति पनि रहनेछ । दर्शकको मनोरञ्जनका लागि भाले छोप्ने प्रतियोगिता पनि आयोजना गर्दैछौं । यो प्रतियोगितामा बाँसको लिंगमा भाले राखिन्छ र प्रतियोगिले बाँसमा चढेर भाले छोप्नुपर्नेछ । जसले पहिले भाले छोप्छ उसले भालेसहित नगद पुरस्कार पनि पाउँछ ।
फेस्टिवल गर्नुको उद्देश्य के हो ?
फेस्टिवल गर्नुको मुख्य उद्देश्य भिजिट नेपाल २०२० लाई सफल पार्नु हो । पर्यटन प्रवद्र्धन गर्ने, आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर भिजिट नेपाललाई सफल पार्नु नै यसको प्रमुख उद्देश्य हो । त्यस्तै, खाना संस्कृतिको विकास गर्दै, लोपोन्मुख खानाहरुको संरक्षणसँगै प्रवद्र्धन पनि हाम्रो उद्देश्य हो ।
प्रदर्शनी केन्द्र, रंगशाला हुँदै सडकसम्म आइपुग्नुको कारणचाहिं के होला ?
हाम्रो उद्देश्य नै फरक÷फरक ठाउँमा महोत्सव गर्ने हो । कुनै एक ठाउँमा मात्र गरेर त्यो ठाउँको मात्रै विकास हुन्छ । फरक/फरक ठाउँमा गर्दा सबै ठाउँको विकास र प्रवद्र्धन हुन्छ । त्यहि उद्देश्यले हामीले फरक÷फरक ठाउँमा फेस्टिवल गरेका हौं । यसमा अन्य केहिपनि कारण छैन ।
सडकमै फेस्टिवल गर्नुको कारणचाहिं के हो ?
सबैको पहुँचका लागि हामीले सडकमै फेस्टिवल गर्न लागेका हौं । सृजनाचोकदेखि आलुमाइलाचोकसम्मको क्षेत्र भनेको पोखराको पुरानो बजार हो । तर अहिले यो बजार ओझेलमा परेको छ । त्यसैले ओझेलमा परेको बजारलाई पुनः पहिलेकै अवस्थामा फर्काउने पनि हाम्रो उद्देश्य हो ।
फेस्टिवलको अवधि छोट्याउनुको कारण ?
महोत्सव अब छोटो तर भव्य बनाउनुपर्ने चुनौति देखापरेको छ । लामो समय अवधिसम्म फेस्टिवल राख्दा दर्शकको सहभागिता घट्यो । जसले गर्दा आम मानिसमा फेस्टिवलप्रति रुची पनि घट्दै गयो । त्यसैले छोटो समय राखेर भव्य बनाउने र फेस्टिवलप्रति घट्दो क्रेजलाई बढाउनका लागि पनि हामीले समय छोट्याएका हौं । अर्को चाहिं सकडमै गर्ने भएपछि स्थानीय र अन्य आवतजावत गर्नेलाई पनि समस्या नपरोस् भनेर थोरै दिनमात्र फेस्टिवल राखेका हौं ।
महोत्सवबाट कति बचाउने लक्ष्य हो ?
महोत्सवबाट पैसा बचाउने हाम्रो लक्ष्य छैन । हामी आम्दानी र खर्च बराबर गर्नेगरी कार्यक्रम गर्दैछौं । करीब २० लाख उठाएर त्यति नै खर्च गर्ने अनुमान गरेका छौं । बचत भइहालेको खण्डमा सिटी रेवान सामाजिक कार्यमा पनि लागिरहेकाले सोही कामका लागि खर्च गर्ने योजनामा छौं ।
Comments are closed.