काठमाडौं । पछिल्लो साता काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा डेंगु संक्रमण तीव्र रूपमा बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का अनुसार गत सातामात्रै ४१३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
सन् २०२५ को सुरुदेखि हालसम्म देशभर ५ हजार ८७४ जनामा डेंगु पुष्टि भइसकेको छ । महाशाखाका तथ्यांकअनुसार अहिलेसम्म ७५ जिल्लामा संक्रमण फैलिएको छ भने ४ जनाको मृत्यु भएको छ ।
प्रदेशवार विवरणअनुसार पछिल्लो साता गण्डकी प्रदेशमा सबैभन्दा धेरै १५१ जना संक्रमित थपिएका छन् । त्यस्तै बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेश प्रदेशमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट फैलिने यो रोग नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा देखिएको थियो । त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए ।
सुरुवाती वर्षहरूमा तराईमा सीमित रहेको डेंगु सन् २०१८ पछि पहाडी क्षेत्रमा समेत फैलियो। सन् २०१९ मा त यसले पहाडका विभिन्न जिल्लामा ठूलो प्रकोपको रूप लियो । सन् २०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजारभन्दा बढी व्यक्ति संक्रमित भए भने १२ जनाको मृत्यु भयो। त्यसयता हरेक वर्ष डेंगुको संक्रमण उच्च दरमा दोहोरिँदै आएको छ ।
सन् २०२२ मा डेंगु ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भएका थिए र ८८ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी २०२३ मा कोशी प्रदेशमा डेंगु व्यापक रूपमा फैलिँदा २० जनाको मृत्यु र ५२ हजारभन्दा बढी संक्रमित भएका थिए। सन् २०२४ मा पनि ४१ हजार ८६५ जना संक्रमित र १५ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार डेंगु अब नेपालमा स्थानीय रूपमा फैलिने रोग (endemic) बनेको छ, जसका कारण वर्षभर जोखिम रहने बताइएको छ ।
Comments are closed.