पर्यटन प्रवद्र्धनको मुख्य लक्ष्यसहित पोखरामा वर्षेनी सडक महोत्सव आयोजना हुन्छ । यस वर्ष २४औं संस्करणको महोत्सव आयोजना भएको छ । महोत्सवका सन्दर्भमा केन्द्रित रहेर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग गरिएको संक्षिप्त कुराकानीः
‘पोखरा सडक महोत्सव’लाई कसरी हेर्नुभएको छ ?
पोखरा सडक महोत्सव २४औं संस्करणको रुपमा हुँदैछ । अङ्ग्रेजी नयाँ वर्षमा हुने यो महोत्सव पोखराको हकमा परम्परा नै बसिसकेको छ । पोखरा सडक महोत्सवमा पोखरा भित्रका मात्र नभएर पोखरा बाहिरका आन्तरिक पर्यटक र विदेशी पर्यटकको समेत आकर्षण पोखरा बनेको छ । महोत्सवलाई लक्षित गरेर पोखराका होटलका हजारौं रुम बुक हुनुले पनि यसको महत्व कति छ भन्ने कुरा पुष्टि गर्छ । अर्को कुरा यो मेला महोत्सव मात्र होइन, यसले हाम्रो कला तथा सँस्कृतिलाई जगेर्ना गर्ने काम गर्छ । महोत्सवमा अरु धेरै प्रवद्र्धनात्मक क्रियाकलाप पनि हुन्छन् ।
महानगरले यसलाई कसरी सहयोग पुर्याउँदैछ ?
महानगरले यस महोत्सवलाई प्रवद्र्धकको रुपमा सहयोग गरेको छ । महानगर पोखरालाई पर्यटन राजधानी बनाउने अभियानमा छ । पर्यटन क्षेत्रसँग जोडिएको यो कार्यक्रममा महानगरले आवश्यक जस्तो सुकै सहयोग गर्न तयार छ । किनकी यसले समग्र पोखराको पर्यटनलाई प्रवद्र्धन गर्ने हो ।
महोत्सवमा सुरक्षादेखि अन्य व्यवस्थापनमा कस्तो भएको पाउनुभएको छ ?
महोत्सवको क्रममा आवश्यक सुरक्षा लगायतको व्यवस्थापनमा हाम्रो सहयोग रहन्छ । महोत्सवलाई व्यवस्थित बनाउन र पर्यटकको आवश्यक स्वागत तथा सुविधा उपलब्ध गराउन व्यवसायी अझै बढि सचेत हुनुुहुन्छ । व्यवसायीको लामो अनुभवले महोत्सवलाई कसरी सफल बनाउने भन्ने कुरामा सचेत रहेको कारण पनि कुनै पनि कुरामा व्यवस्थापनमा कन्जुस्याई हुन्छ भन्ने लाग्दैन ।
व्यवस्थापनका क्रममा अनुगमन तथा निर्देशन पनि भएको छ ?
महोत्सवमा सामान सकेसम्म कम मूल्यमा उपलब्ध गराउने, सकेसम्म हस्पिटालिटीमा ध्यान पुराउने काममा हामीले ध्यान दिएका छौं । यसको लागि हामी शुरुवाती व्यवस्थापन देखि बीच बीचमा आवश्यक अनुगमन तथा निर्देशनका काम समेत गर्छौं ।
Comments are closed.