लायन्स क्लब्स इन्टरनेशनल ३२५ जे, नेपालले डिष्ट्रिक्ट वाइफर्मेसनपछि स्थापनाको एक वर्ष पूरा गरेर पहिलो डिष्ट्रिक्ट कन्भेन्सन गर्दैछ । डिष्ट्रिक्टको संस्थापक डिस्ट्रिक्ट गभर्नरको रूपमा जिम्मेवारी पाएका ध्रुव श्रेष्ठ ३२५ जेले नयाँ डिष्ट्रिक्ट भएरै पनि विश्वस्तरमा उत्कृष्ट काम गरेको बताउँछन् । लायन्समा ४५ वर्ष लामो अनुभव बटुलेका श्रेष्ठले लायन्स अभियान र ३२५ जे ले गरेका गतिविधिका बारेमा आर्थिक आवाजसँग गरेको कुराकानी :
लायन्स क्लब्स इन्टरनेशनल ३२५ जे को संस्थापन गर्भनर भएर काम गर्दाको अनुभुति कस्तो रह्यो ?
म विगत ४५ वर्षदेखि लायन्समा आबद्ध छु । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जेको गर्भनरको रूपमा कामगर्दा मेरो लागि सुखद तथा सफल समय रहेको मैलै अनुभुती गरेको छु । मेरो अनुभवलाई हाम्रो टिमसँग जोडिएर अगाडि बढाउने अवसरको रूपमा मैले यो अवसरलाई लिएँ । सकेसम्म हामी सक्रिय भएर काम गर्ने सोंचलाई व्यवहारमा बदल्ने मौका यो कार्यकालले दियो ।
नेपालमै १५ ओटा डिष्ट्रिक्ट छन्, ३२५ जेको अवस्था कस्तो छ ?
वाइफर्मेसनको समयमा सबैभन्दा कम क्लब लिने डिष्ट्रिक्टमा हाम्रो डिष्ट्रिक्ट पनि पर्छ । अहिले २० ओटा नयाँ क्लब खोलेर क्लब थप गर्नेमा संसार कै दोस्रो पोजिसनमा छौं । सर्भिसका काममा पनि हामी संसारभरमा दोस्रोमा छौं । रिपोर्टिङको कुरामा हामी पहिलो पोजिसनमा छौं । धेरै एचिभमेन्ट गर्न सफल भएकोले सानो डिष्ट्रिक्ट भएपनि लक्ष्य प्राप्त गर्न सफल भएका छौं ।
मलाई त मेरो डिष्ट्रिक्ट अन्य १४ डिष्ट्रिक्टभन्दा अब्बल छ भन्ने लाग्छ । हामीले विभिन्न क्लब खोल्ने अभियान चलाउँथ्यो तर अहिले हामी त्यो बाटोमा छैनौं । मेरो अभियान लायन्स बुझेर भएकै सदस्यलाई नियमित बनाउनु छ । नेपालमा लायन्स अभियान शुरू भएको ५० वर्षमा धेरै परिवर्तन गर्न सकिन्थ्यो तर हामी सिस्टममा रहन नसकेका रहेछौं भन्ने अनुभूती भएको छ । यसकै कारण हामीले चाहे जति उपलब्धी हासिल गर्न सकेका रैनछौं । हामीले अहिले एउटा डिस्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई कम्तीमा ५ वर्ष नियमित गराउने निर्णय गरेका छौं । यसले हरेक डिष्ट्रिक्ट गभर्नरका योजनाले पूर्णता पाउनको लागि सहयोग पुग्छ भन्ने मलाई लाग्छ ।
यसबीचमा तपाईको डिष्ट्रिक्टमा के के काम भए ?
हामीले लक्ष्य निर्धारण गरेअनुसारका काम गर्यौं । डिस्ट्रिक वाइफर्मेसनपछि हामीले केही लक्ष्य निर्धारण गरेका थियौं । नयाँ भएको कारणले ती लक्ष्य त्यति धेरै पनि थिएनन् । हामीले परिकल्पना गरेका ६–७ ओटा काम पुरा भएका छन् । हाम्रो डिष्ट्रिक्टको मल्टिपल दर्तासहितको अस्तित्व छ नै त्यसमा पनि डिष्ट्रिकलाई छुट्टै दर्ता प्रकिृयामा लैजानको लागि विधान र नियमावली बनाउने काम गरेका छौं । अर्को , डिष्ट्रिक्टलाई डिजिटलाइज्ड गर्नको लागि हाम्रो वेवसाइट बनाउनेदेखि मोबाइल एप लगायतका कुरालाई प्राथमिकता दिइ हाम्रा सूचना तथा जानकारी सबै डिजिटल माध्यमबाट राख्ने व्यवस्था मिलाएका छौं । लायन्स स्थापना भएको १०५ वर्ष भइसकेको छ । लायन्सले हरेक वर्ष आफ्ना सदस्यको संख्या बढाउने अभियानमा लागेको हुन्छ, अभियान अनुसार लाखको संख्यामा सदस्यको संख्या बढ्ने र फेरि त्यति नै संख्यामा घट्ने हुँदै आएको अवस्था छ । नयाँ सदस्य थपिँदा पुराना बाहिरिने प्रवृत्ति छ । नेपालको परिपेक्षमा हेर्दा संसारमै धेरै सदस्य थप गर्नेमा पर्छ । यहाँ भएका १५ डिष्ट्रिक्टमध्ये यो पटक ५ डिष्ट्रिक्ट संसारमा उत्कृष्ट मध्येमा परे । हाम्रो डिष्ट्रिक्टपनि त्यसमध्येमा पर्छ । हाम्रो मान्यता नयाँ थप गर्ने मात्र भन्दा पनि भएकै सदस्यलाई सदस्यता नविकरण गरेर निरन्तरता दिनुपर्छ भन्ने हो, त्यो अभियानमा यो पटक सफल पनि भयौं ।
डिष्ट्रिक्ट र क्लबको क्षमता विकासका काम पनि भए?
संसारमै क्लबमा २० जनाभन्दा कम सदस्य संख्या नभएको डिस्ट्रिक्टमा हामी पर्दैछौं । हामीकहाँ भएका १०३ क्लब अन्तराष्ट्रिय स्टान्डर्डअनुसारका छन् । मेरो कार्यकालमा डिस्ट्रिक र माताहतमा क्लबलाई कसरी लायन्सको नियमअनुसार अगाडि बढाउन सकिन्छ भन्ने कुरामा अभ्यास गर्यौं । क्षमता विकासका धेरै कार्यक्रम गरेका छौं । लायन्स अन्तराष्ट्रियले केही वर्षदेखि ‘लायन्स् क्वेस्ट’ भन्ने ११ वर्ष मुनीका बालबालिका लक्षित परियोजना सञ्चालन गर्दै आएको छ, नेपालमा केही वर्षदेखि त्यो बन्द भएको थियो, हामीले त्यसलाई निरन्तरता दियौं । अर्को अन्तराष्ट्रिय रूपमै ‘पिस पोस्टर’ भन्ने चित्रकला प्रतियोगिता हुन्छ, नेपालमा १५ ओटा डिस्ट्रिक्टका ११ देखि १३ वर्ष उमेर समूहका बालबालिकामा गरिएको प्रतिस्पर्धामा हाम्रो डिस्ट्रिक्ट प्रथम भएको छ । अमेरिकामा प्रतियोगिताको लागि हामी गइरहेका छौं । हामीले योबीचमा यस्ता धेरै काम गरेका छौं । जुनबाट हामी सन्तुष्ट पनि छौं ।
चार दशकभन्दा लामो समयदेखि लायन्सलाई बुझ्दै आउनु भएको छ, लायन्स अभियानका कमजोरी के हुन्, के कुरामा सुधार गर्नुपर्ला ?
लायन्समा सबैभन्दा ठूलो कुरा त लायन्स के हो र यसले के गर्छ भन्ने कुरा बुझाउनु नै ठूलो कुरा हो । अहिले हाम्रा सदस्यमा सबैकुरा बुझाएर ल्याउने, नल्याउने दुवै प्रवृत्ति विद्यामान छ । लायन्समा जोडिएपछि मिटिङ गर्ने, रमाइलो गर्ने भन्ने मात्र भन्दा पनि लायन्सको अभियान र उद्देश्य बुझाउन जरुरी छ । हामी लायन्सका लिडरले यसको महत्वका बारेमा बुझाउन सकेका छौं कि छैनौं भन्ने कुरा जहिल्यै मेरो प्राथमिकतामा पर्छ । मलाई लाग्छ हाम्रो डिष्ट्रिक्टमा त्यो कुरा बुझाउने काम भएको छ । नेपालका ५० हजार सदस्य लायन्समा आबद्द भएका छन्, ती सदस्य कुन उद्देश्यले जोडिएका हुन् । ती साथीहरूलाई लायन्सको बारेमा बुझाउन सकियो भने यो अभियानमार्फत हाम्रो जस्तो विकासशील मुलुकले फाइदा उठाउन सक्छ । सरकारले मात्रै गर्न नसक्ने अवस्थामा लायन्स, रोटरी, जेसिस लगायतले भूमिका निभाउन सक्छन् तर यसको लागि यसका अन्तर्राष्ट्रिय मान्यतामा रहेर काम गरेको हुनुपर्छ । यसरी नगरेको अवस्थामा एनजीओ, आइएनजीओको अवस्था हुन्छ । राम्रोसँग काम गरेको अवस्थामा एउटा डिष्ट्रिक्टले ४ ओटासम्म परियोजना सञ्चालन गर्न पाइन्छ । एक करोडसम्मका परियोजनाको हिसाब गर्ने हो भने पनि १५ डिष्ट्रिक्टले ६० ओटा परियोजना सञ्चालनमा ल्याउन सक्छन् । हामीले यसवर्ष ३ ओटा परियोजना ल्याउनको लागि प्रकृया अगाडि बढाएका छौं ।
Comments are closed.