जटिल परिस्थितिलाई सामना गर्दै कार्यकाल सफल बनाएँ

ध्रुव थापा, अध्यक्ष, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को ४७औं साधारणसभा पुस २० गते शुक्रबार हुँदैछ । साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मत घोषणा गर्नेछ । साधारणसभासँगै नाडाका बर्तमान अध्यक्ष ध्रुव थापाले आफ्नो कार्यकाल पुरा गर्नेछन् । यसैक्रममा नाडा अध्यक्ष थापासँग आर्थिक आवाजले गरेको कुराकानीः

आगामी कार्यकालका लागि नाडामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्न सफल हुनुभएको छ । सहमति कसरी सम्भव भयो ?

आगामी कार्यकालका लागि नाडाको नेतृत्व सर्वसम्मत बनाउन सफल भएका छौं । यसका लागि हामीले गृहकार्य पनि धेरै गरेका थियौं । करिब ३÷४ महिना अगाडिबाट नै पहलकदमी गरिरहेका थियौं । धेरै मिटिङ बस्यौं । अध्यक्षका लागि आकांक्षी साथीहरुसँग कुरा ग¥यौं । अहिलेको अवस्थामा व्यवसायीका बीचमा चुनाव गर्नु हुँदैन मिलेर जानुपर्छ भनेर अगाडि बढ्यौं । यसले साथीहरुलाई पनि दवाव सृजना भयो । चुनाव गराउन पनि धेरै च्यालेन्जिङ नै थियो । व्यवसायीहरु कठिन परिस्थितिमा भएको समयमा ३ जना आकांक्षी नै अगाडि बढ्दा अप्ठ्यारो हुन्थ्यो । देशभरबाट सबै व्यवसायी आउन पनि गाह्रो नै हुन्छ । आउनुभएकाहरुको व्यवस्थापनका लागि पनि महंगो खर्च नै लाग्छ । उम्मेदवारहरुलाई पनि धेरै खर्च लाग्थ्यो । उहाँहरुले पनि सोच विचार गर्नुभयो सबै कुरा । सबै साथीहरुको दवाव पनि रह्यो । धेरै प्रयास पछि हामी सर्वसम्मत रुपमा नेतृत्व तथा कार्यसमिति चयन गर्न सफल भयौं । यसले व्यवसायी बीचमा एकताको सन्देश पनि दिएको छ । मिलेर जादा व्यवसायीमा पनि उत्साह छाएको छ ।

jutta mela

आंकाक्षीहरुबीच कसरी सहमति जुट्यो ?

म अध्यक्ष हुने समयमा चुनाव नै भएको हो । धेरै संघ संस्थाको नेतृत्व गरिसकेको हुनाले चुनावको समयमा जे भएपनि पछि सबै व्यवसायीलाई सम्हालेर अगाडि बढ्न सफल भएँ । अहिले सबै व्यवसायी मिलेर सरकारसँग लविङ गर्नुपर्ने समयमा व्यवसायी हामी गुटमा छुट्टिएर पक्ष विपक्ष बनेर चुनावमा गएको भए राम्रो सन्देश पनि जाने थिएन । काम गर्ने वातावरण पनि असहज हुन्थ्यो । व्यावसायिक एकता बनाउनका लागि नाडमा सहमतिको लागि दबाब बढेको हो । अध्यक्षका आकांक्षीहरुको कुरा पनि हामीले धेरै पटक सुन्यौं । पछि चुनाव लड्नुपर्छ भने अहिले नै लड्ने भन्ने खालका कुरा पनि नआएको होइन । यसको उपाय के छ भन्ने सोच्यौं । अहिले छोड्नेले अर्को कार्यकाल नेतृत्व गर्ने भन्ने निर्णयका साथ सहमति ग¥यौं । अब नाडाको अध्यक्ष करण चौधरी बन्ने र त्यसपछि विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा बनाउने र अर्को कार्यकाल आकाश गोल्छा स्वतह अध्यक्ष हुने व्यवस्था हुनेछ ।

अटोमोबाइल व्यवसाय अहिले कस्तो अवस्थामा छ ?

सरकारले ल्याएका विभिन्न नीति नियमले अटोमोबाइल व्यवसायमा चुनौती थपिएको छ । अहिले अटो मोबाइल व्यवसाय धरासायी अवस्थामा नै छ । केही सुधारोन्मुख भएपनि सरकारले नीति नियमलाई पुनर्मूल्याङकन नगर्दासम्म पहिलाको अवस्थामा जान सक्ने अवस्था छैन । राष्ट्र बैंकले ल्याएका नीति नियम, सरकारले ल्याएका नीति नियमका कारण अटोमोबाइल धेरै अप्ठ्यारो अवस्थामा छ । हामी विषम परिस्थितिकै बीचमा अगाडि बढेका छौं ।

अहिले भन्सार नाकाबाट खुलम खुल्ला रुपमा स्पेयर पार्टसहरु आयात भइरहेको छ । भारतीय गाडीहरु खुलम खुल्ला रुपमा नेपाल भित्रिएर यही चलाउन पाइरहेको अवस्था छ । यसले नेपालको मार्केटलाई अप्ठ्यारो बनाएको छ । चोरी पैठारीबाट स्पेयर पार्टस आयात हुँदा जेन्युन व्यवसायी मारमा पर्नुभएको छ । अटो व्यवसायीका लागि यो मुख्य चुनौती बनेको छ । यसलाई नियन्त्रण गर्नु आवश्यक छ । मैले पनि यस विषयमा धेरै लविङ गरेँ तर अहिलेको समयमा नीति नियमका लागि धेरै लड्नुप¥यो । अबको नेतृत्वले त्यसतर्फ पनि ध्यान दिनुपर्छ । मेरो पनि मार्गनिर्देशन र साथ रहन्छ ।

अटो व्यवसायका सन्दर्भमा सरकारको नीतिलाई सकारात्मक मान्न सकिदैन ?

जहिलेसम्म अटोमोबाइललाई आवश्यकताको वस्तुका रुपमा क्याटागोराइज गरिदैन तबसम्म हाम्रो दबाब अभियानलाई छोड्न हुँदैन । अहिलेको बजेटमा केही सार्थकता भने पाएको छ । साना सिसिका गाडीलाई एक खालको प्राथमिकता दिएर ठुला सिसिका गाडीलाई कर बढाइएको छ । यसमा चाही के लाग्छ भने सरकारले पनि बुझ्न थालेको छ कि आवश्यकताको वस्तु हो भनेर । सानो सिसिका गाडी तथा मोटरसाइकललाई भन्सार दर तथा अन्तशुल्क बढाउनु हुँदैन भन्ने मान्यतामा सरकार गएको छ । इभिमा पनि सहुलियत दिएको छ । यसलाई सकारात्मक नै मान्नुपर्छ । राज्यको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न सफल यो व्यवसायलाई राज्यले अझै पनि प्राथमिकतामा राख्न सकेको छैन जुन दुःखको कुरा हो । गाडी अति आवश्यक चिज हो भन्ने कुरा पोलिसीगत रुपमा नै ल्याउन सक्यौं भने अटोमोबाइल व्यवसायीलाई केही राहत हुन्छ । फोर ह्विलर भेइकलमा पनि सेल्स बढ्ने अवस्था आउँछ । भारतीय या चाइनिज मूल्यमा गाडी आउन थाल्यो भने फोर ह्विलर चढ्नेको संख्या धेरै बढ्छ । त्यो अवस्थामा नेपाल पुग्नुपर्छ । सरकारलाई पनि फाइदा नै हुन्छ । कम बिक्री गरेर धेरै राजस्व उठाउनु भन्दा धेरै बिक्री गरेर धेरै राजश्व उठाउँदा फाइदा हुन्छ ।

नाडाको अध्यक्ष निर्वाचित भएर कार्यकाल सम्पन्न गर्दै हुनुहुन्छ । तपाईंको नेतृत्वमा नाडाको २ वर्षे कार्यकाल कस्तो रह्यो ?

मेरो कार्यकालको समय जटिल नै रह्यो । जटिल परिस्थितिलाई सामना गरेर अगाडि बढ्यौं । नाडाको उचाई र गरिमा बढाउन मेरो कार्यकालको महत्वपूर्ण रह्यो । हरेक सरकारी निकाय, मन्त्रालय लगायतका स्थानमा नाडा नचिन्ने कोही छैन । नाडालाई सरकारले पनि प्राथमिकतामा राख्न सुरु गरिसकेको छ र हाम्रो कुरा सुन्छ । पहिलेका कमि कमजोरीलाई सुधार गरेर नाडा सचिवालयलाई व्यवस्थित बनाएका छौं । सदस्यतालाई डिजिटलाइज गरेका छौं । सबैको बीचमा साथित्व तथा भातृत्वको भावना विकास भएको छ ।

विषम परिस्थितिबीच नाडा अटो शो सम्पन्न गर्नुभयो । अटो शोको प्रभाव कस्तो देखिएको छ ?

अप्ठ्यारो परिस्थितिमा पनि हामी अटो शो गर्न सफल भयौं, जुन सकारात्मक कुरा हो । समग्र अटोमोबाइल क्षेत्रका लागि अटो शो कोशेढुङ्गा सावित भयो । यसले अटोमोबाइल क्षेत्रका साथै देशको आर्थिक गतिविधिलाई नै चलायमान बनायो । सरकारले अटोमोबाइल क्षेत्रको राजस्वमार्फत केही राहत महसुस गरेको छ । अटोमोबाइल क्षेत्रमा उत्साह थपिएको छ ।

नाडाले स्किल डेभलपमेन्टका कार्यक्रम पनि सुरु गरिसकेको छ । यो कार्यक्रमको उद्देश्य के हो ?

नेपालभरका अटो सेक्टरमा स्किल डेभलपमेन्टका कार्यक्रम गर्ने उद्देश्यका साथ नाडामा स्किल डेभलपमेन्ट युनिट नै खडा गरेका छौं । स्विजरल्याण्डको एक एनजिओसँगे सहकार्यमा हामीले काम गरेका हौं । अहिले बागमती र लुम्बिनी प्रदेशमा स्किल डेभलपमेन्टको काम शुरु गरिसकेका छौं । टेक्निसियन, सेल्स लगायत काम गर्ने स्किल्ड मेनपावर बाहिरिएसँगै अटोमोबाइल क्षेत्रमा पनि समस्या परेको छ । त्यसलाई परिपूर्ति गर्न यसले महत्वपूर्ण भुमिका खेल्नेछ । रोजगारीका क्षेत्रमा पनि यसले सहयोग पु¥याउने छ । यसले हाम्रा लागि मात्र नभई देशका लागि पनि स्किल्ड मेनपावर उत्पादन गर्छ ।

प्रदेश च्याप्टरहरुसँगको सहकार्य कस्तो रुह्यो ?

नाडाले बिगतदेखि नै प्रदेशहरुसँग समन्वय गर्दै आएको छ । अहिले पनि निरन्तर नै छ । प्रदेशमा कार्यक्रमहरु गर्न हामीले केन्द्रबाट पनि सहयोग गर्दै आएका छौं । स्थायी संरचना बनाउनु पर्दा पनि नाडाले सहयोग गरेको छ । हामीले मापदण्ड नै बनाएका छौं । प्रदेशलाई छुट्टै अधिकार प्रदान गर्नका लागि विधान संशोधन कमिटि पनि बनाएका थियौं । प्रदेशलाई अझै बलियो बनाउन यसमा विभिन्न बुँदा समेटेर यो अधिबेसनमा पेश गर्ने भन्ने थियो । तर अझै छलफल गरौं भन्ने कुरा आएको छ । अर्को कार्यकालमा पास गर्ने गरेर हामीले लगेका छौं । सबै प्रदेश र ३२ जिल्लामा अटोमोबाइल एसोसिएसन गठन भएका छन् । ती सबै नाडामा समेटिएका छैनन् । ती एसोसिएसनलाई नाडासँग जोड्नु जरुरी छ । जिल्ला र प्रदेशगत संरचनाको मोडालिटीमा लैजाने हिसाबमा विधान संशोधनको प्रारुप तयार भएको छ ।

व्यवसाय सुधार हुनेमा आशावादी हुन सकिन्छ ?

अहिले अटो व्यवसायी निरास तथा हतोत्साही हुनुहुन्छ । व्यवसायीहरु पलायन भएको अवस्था थियो । अहिले केही सुधार हुन लागेको देखिएर आशा भने पलाएको छ । व्यवसायमा उतार चढावहरु आइरहन्छन् धैर्य भएर सामना गर्नुपर्छ । केही समयपछि राम्रो हुन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

२ वर्षे कार्यकालमा साथीहरुले मलाई धेरै सहयोग गर्नुभएको छ । म साथीहरुप्रति आभारी छु । नाडाको इतिहासमा पहिलो पटक मोफसलको क्षेत्रबाट मलाई अध्यक्षमा निर्वाचित गर्नुभएको हो । पक्ष, विपक्ष नभनी सबैलाई समेटेर हामीले कार्यकाल पुरा ग¥यौं । हामीभित्र कुनैपनि मतभेद रहेन । नयाँ आउने नेतृत्वले पनि सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिन चाहन्छु ।

You might also like

Comments are closed.