नाडाको उचाईलाई धेरै माथि पुर्याएका छौंः अध्यक्ष थापा (अन्तर्वार्ता)

ध्रुव थापा, अध्यक्ष, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को ४७औं साधारणसभा आगामी पुसको २० र २१ गते हुँदैछ । अधिवेशनको वर्षसमेत भएकाले नाडामा चुनावी माहोल सुरु भइसकेको छ । नाडाका बर्तमान अध्यक्ष ध्रुव थापा आफ्नो कार्यकालको उत्तरार्धमा छन् । यसैक्रममा नाडा अध्यक्ष थापासँग अटोमोबाइल व्यवसायको अवस्था, नाडाको गतिविधि लगायत विषयमा आर्थिक आवाजले गरेको संक्षिप्त कुराकानीः

नाडाको अध्यक्ष निर्वाचित भएर कार्यकाल सम्पन्न गर्ने तयारीमा हुनुहुन्छ । तपाईंको नेतृत्वमा नाडाको २ वर्षे कार्यकाल कस्तो रह्यो ?

म नाडाको अध्यक्ष भएर काम गरिरहदा समय भने केही जटिल नै रह्यो । जटिल परिस्थितिलाई सामना गरेर अगाडि बढिरहेका छौं । नाडाको जुन उचाई र गरिमा छ यसलाई अझै उचाइमा पुर्याउन यो कार्यकालको महत्वपूर्ण भुमिका रह्यो भन्ने लाग्छ । हरेक सरकारी निकाय, मन्त्रालय लगायतका स्थानमा नाडा नचिन्ने कोही छैन । नाडाको उचाईलाई धेरै माथि पुर्याएका छौं । आज नाडाले राखेका कुरा नसुन्ने भन्ने कोही पनि छैनन् । नाडालाई सरकारले पनि प्राथमिकतामा राख्न सुरु गरिसकेको छ । समग्रमा भन्नुपर्दा नाडाको गरिमा उच्च भएको छ । पहिलेका कमि कमजोरीलाई सुधार गरेर नाडा सचिवालयलाई व्यवस्थित बनाएका छौं । सदस्यतालाई डिजिटलाइज गरेका छौं । सबैको बीचमा साथित्व तथा भातृत्वको भावना विकास भएको छ ।

jutta mela

विषम परिस्थितिबीच नाडा अटो शो सम्पन्न गर्नुभयो । अटो शोको प्रभाव कस्तो देखिएको छ ?

अप्ठ्यारो परिस्थितिमा पनि हामी अटो शो गर्न सफल भयौं, जुन सकारात्मक कुरा हो । समग्र अटोमोबाइल क्षेत्रका लागि अटो शो कोशेढुङ्गा सावित भयो । यसले अटोमोबाइल क्षेत्रका साथै देशको आर्थिक गतिविधिलाई नै चलायमान बनायो । सरकारले अटोमोबाइल क्षेत्रको राजस्वमार्फत केही राहत महसुस गरेको छ । अटोमोबाइल क्षेत्रमा उत्साह थपिएको छ । ठुलो चुनौतीका बाबजुत अटो शो गरेका हौं, जुन अत्यन्तै सफल भयो ।

नाडाले स्किल डेभलपमेन्टका कार्यक्रम पनि सुरु गरिसकेको छ । यो कार्यक्रमको उद्देश्य के हो ?

नेपालभरका अटो सेक्टरमा स्किल डेभलपमेन्टका कार्यक्रम गर्ने उद्देश्यका साथ नाडामा स्किल डेभलपमेन्ट युनिट नै खडा गरेका छौं । स्विजरल्याण्डको एक एनजिओसँगे सहकार्यमा हामीले काम गरेका हौं । अहिले बागमती र लुम्विनी प्रदेशमा स्किल डेभलपमेन्टका काम शुरु गरिसकेका छौं । टेक्निसियन, सेल्स लगायत काम गर्ने स्किल्ड मेनपावर बाहिरिएसँगै अटोमोबाइल क्षेत्रमा पनि समस्या परेको छ । त्यसलाई परिपूर्ति गर्न यसले महत्वपूर्ण भुमिका खेल्नेछ । रोजगारीका क्षेत्रमा पनि यसले सहयोग पुर्याउने छ । यसले हाम्रा लागि मात्र नभई देशका लागि पनि स्किल्ड मेनपावर उत्पादन गर्छ । गण्डकी प्रदेशमा पनि काम शुरु गर्ने तयारीमा छौं । नाडाले स्थायी रुपमा नै चलाउने युनिट हो यो ।

पछिल्लो समय अटो बजारमा केही सुधार आएको हो ?

अवश्य पनि सुधार हुँदै गइरहेको छ । अरु क्षेत्र राम्रो नहुँदा पनि अटोमोबाइल क्षेत्रमा सुधार हुनु भनेको अटो क्षेत्रका लागि राम्रो संकेत हो । विभिन्न सरकारी निकाय, मन्त्रालय, बैंक तथा वित्तीय संस्थासँग बसेर हामीले धेरै छलफल पनि गर्यौं । यसले अटोमोबाइल क्षेत्रलाई गति प्रदान गर्न भुमिका खेल्यो । अटोमोबाइल क्षेत्र चलायमान भएसँगै अन्य क्षेत्रमा पनि सकारात्मक वातावरण बन्छ ।

नाडाले आफ्ना प्रदेश च्याप्टरहरुसँग कसरी सहकार्य गरिरहेको छ ?

नाडाले बिगतदेखि नै प्रदेशहरुसँग समन्वय गर्दै आएको छ । अहिले पनि निरन्तर नै छ । प्रदेशमा कार्यक्रमहरु गर्न हामीले केन्द्रबाट पनि सहयोग गर्दै आएका छौं । स्थायी संरचना बनाउनु पर्दा पनि नाडाले सहयोग गरेको छ । हामीले मापदण्ड नै बनाएका छौं । प्रदेशलाई छुट्टै अधिकार प्रदान गर्नका लागि विधान संशोधन कमिटि पनि बनाएका थियौं । प्रदेशलाई अझै बलियो बनाउन यसमा विभिन्न बुँदा समेटेर यो अधिबेसनमा पेश गर्ने भन्ने थियो । तर अझै छलफल गरौं भन्ने कुरा आएको छ । अर्को कार्यकालमा पास गर्ने गरेर हामीले लगेका छौं । सबै प्रदेश र ३२ जिल्लामा अटोमोबाइल एसोसिएसन गठन भएका छन् । ती सबै नाडामा समेटिएका छैनन् । ती एसोसिएसनलाई नाडासँग जोड्नु जरुरी छ । जिल्ला र प्रदेशगत संरचनाको मोडालिटीमा लैजाने हिसाबमा विधान संशोधनको प्रारुप तयार भएको छ ।

नाडाको साधारणसभा तथा अधिवेशन नजिकिँदै छ । तयारी कस्तो छ ?

आगामी पुसको २० र २१ गते साधारण सभाको घोषणा गरिसकेका छौं । यो वर्ष नयाँ कार्यसमिति आउने वर्ष पनि हो । सर्वसम्मतीमा लैजाने प्रयास हामीले गरिरहेका छौं । चुनाव नगर्ने भन्ने हिसाबले हामी अगाडि बढेका छौं । धेरै चरणमा कुरा भएका छन् । सकारात्मक रुपमा कुरा अगाडि बढेको छ । नाडालाई चुनावमा लैजानु हुँदैन भन्ने साथीहरुको पनि भनाई छ । तर, चुनाव भइहालेमा पनि अन्यथा लिनु हुँदैन । चुनाव पछि पनि पक्ष विपक्ष नभनि नाडालाई अगाडि बढाउनुपर्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

२ वर्षे कार्यकालमा साथीहरुले मलाई धेरै सहयोग गर्नुभएको छ । म साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । नाडाको इतिहासमा पहिलो पटक मोफसलको क्षेत्रबाट मलाई अध्यक्षमा निर्वाचित गर्नुभएको हो । पक्ष, विपक्ष नभनी सबैलाई समेटेर हामीले कार्यकाल पुरा गर्दैछौं । हामीभित्र कुनैपनि मतभेद रहेन । नयाँ आउने नेतृत्वले पनि सबैलाई समेटेर अगाडि बढ्नुपर्नेछ । अटोमोबाइल व्यवसायको हितमा काम गर्न सबै मिल्नुको विकल्प छैन । हामी अझै मजवुत भएर व्यवधानहरुसँग जुधेर अगाडि बढ्नुपर्छ । यो समय असामान्य परिस्थितिबिचबाट गुज्रिरहेको छ । अहिलेको अवस्थामा सबै मिलेर जानु उपयुक्त हुन्छ ।

You might also like

Comments are closed.