पोखराबाट उदाएर राष्ट्रियस्तरमा चम्किएका ध्रुव

ध्रुवबहादुर थापा, अध्यक्ष, हिमालय अर्गनाइजेसन

मध्यम परिवारमा जन्मिएका ध्रुवबहादुर थापालाई इन्टर अध्ययन गर्दादेखि नै काम गर्नुपर्ने र आत्मनिर्भर हुनुपर्ने बाध्यता थिएन । पोखराको नयाँबजारमा घर थियो । बुबाको भारतमा रोजगारी, नेपालमै दाइको जागिर । उनले काम नै नगरी आफ्नो अध्ययन पुरा गर्न सक्थे । तर, उनमा सानैदेखि व्यवसाय गर्ने र कमाउने सोच थियो ।

२०४० को दशकमा मोटरसाइकल चढ्नेहरु फाट्टफुट्ट मात्रै हुन्थे । त्यो संख्या पोखरामा अझै कम थियो । निकै थोरैले मात्रै मोटरसाइकल चढ्ने समयमा मोटरसाइकलकै रिकण्डिसन व्यवसाय चल्छ भनेर कसले सोच्ने ? तर ध्रुवले यही व्यवसायमा आफूलाई समाहित गरे । पुरानो मोटरसाइकल किन्ने, मर्मत गरी आफूले चलाउने र अरुलाई पनि बेच्ने क्रम ३ वर्षसम्म चल्यो । किन्ने र बेच्ने क्रमसँगै उनलाई रिकण्डिसन शोरुम नै राख्ने सोच पलायो । जुन प्रस्ताव उनले आफ्नो परिवारमा राखे । त्यसपछि संयुक्त व्यवसायको रुपमा २०४७ मा जन्मियो ‘गण्डकी रिकण्डिसन हाउस’ । बिहान कलेज पढ्ने र दिउसो रिकण्डिसन व्यवसायमा व्यस्त हुन्थे थापा ।

jutta mela

गण्डकी रिकण्डिसन हाउसलाई नेपालकै पहिलो रिकण्डिसन शोरुम मानिएको छ । ‘रिकण्डिसन व्यवसाय सोचे भन्दा धेरै राम्रो भयो,’ थापा सम्झन्छन्, ‘शोरुम आकर्षक देखिन्थ्यो । ग्राहकप्रति विश्वास पनि बढ्यो ।’ २ लाख रुपैयाँको लगानीबाट ३ वटा मोटरसाइकल राखेर उनले त्यो समय व्यवसाय सुरुवात गरेका थिए ।

रिकण्डिसन हाउसबाट व्यवसाय सुरु गर्दा नेपालकै प्रतिष्ठित व्यावसायिक घरानाको नेतृत्व गर्छु भन्ने सोच उनमा त्यो बेला सायद थिएन होला । तर उनको व्यवसायप्रतिको लगाव दिनप्रतिदिन बढ्दै गयो । थापाले लगानी बढाउँदै गए । व्यवसायलाई विविधीकरण पनि गरे । पुरानो मोटरसाइकल किचबेच गरी पोखराबाट व्यावसायिक क्षेत्रमा उदाएका ध्रुव थापा अहिले राष्ट्रियस्तरमा व्यावसायिक क्षेत्रमा चम्किएका छन् । सफल व्यवसायीको पहिचान बनाएका छन् ।

डिलरको शुरुवात

रिकण्डिसन व्यवसाय सञ्चालनकै क्रममा उनलाई सुजुकी मोटरसाइकलको लागि डिलरको अफर आयो । २०४९ मा थापाले सुजुकीको डिलर सुरु गरे । जुन डिलर अहिलेसम्म पनि छ । उनले क्रमशः अटोमोबाइल व्यवसायमा लगानी बढाउँदै लगे । कोरियाबाट आउने डेलिम मोटरसाइकलको डिलर पनि उनले पोखरामा सुरु गरे । २५ वर्ष अगाडि २०५२ मा सुरु भएको डेलिम मोटरसाइकलको शोरुमबाट पनि उनले राम्रो सफलता पाए । यो कोरियन बाइक लक्जरियस पनि थियो । लाहुरेहरुको शहर भनेर चिनिने पोखरामा महंगो मोटरसाइकल पनि राम्रो बिक्यो । इन्डियन बाइक ६०/७० हजार रुपैयाँमा आउँदा डेलिम बाइक त्यो समयमा नै २ लाख रुपैयाँ पर्दथ्यो । सुरुमै १ लाख ९५ हजार रुपैयाँमा पहिलो बाइक बिक्री गरे । १५ वर्षसम्म यो डिलर कायम रह्यो ।

सन् २००० तिर थापाले हुलास मोटर्सको डिलरसिप लिए । कच्ची रोडहरुमा बढी डिमाण्ड थियो हुलास ब्राण्डका गाडीहरुको । राम्रो बिक्री भयो । उनलाई अटोमोबाइल व्यवसायमा हुलासले थप स्थापित गर्यो । लगत्तै सन् २००० तिरबाटै रियलस्टेट व्यवसायमा पनि उनको प्रवेश भयो । थापाले हिमालय इन्भेष्ट एण्ड डेभलपमेन्ट कम्पनीको सुरुवात गरे । दाई विन्दु कुमार थापाले पहिलेदेखि नै यो व्यवसायमा काम गरेका थिए । रियलस्टेटमा पनि ध्रुवले आफूलाई स्थापित गरे । सँगैसँगै हेभी इक्युपमेन्ट व्यवसायमा पनि उनको प्रवेश भयो । आजभन्दा ७ वर्ष अगाडि फोर्ड गाडीको डिलर पनि उनले लिए । लगत्तै फोर्सको आयातकर्ता बनेर नेपालमा फोर्स गाडी भित्र्याउन थापा सफल भए । अहिले फोर्सको नेटवर्क देशभर छ । २२ वटा डिलर र आफ्नै ४ वटा शाखा छन् ।

थापा अध्यक्ष रहेको हिमालय अर्गनाइजेसन अन्तर्गत फोर्डको डिलर अटोभेन्चर प्रालि, फोर्स मोटर्सको आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रालि, सुजुकीको डिलर हिमालय अटो वल्र्ड, हेभी इक्युपमेन्ट केसको डिलर हिमालय इक्युपमेन्ट सञ्चालनमा छन् । के.ए.एल. ब्राण्डको थ्रि ह्विलर इलेक्ट्रिक अटो रिक्साको नेपालमा आयातकर्ताको नेतृत्व पनि थापाले नै गरेका छन् । इलेक्ट्रिक बस तथा भ्यान ब्राइसन नेपालमा आयातकर्ताको जिम्मेवारी पनि थापाले लिएका छन् ।

पर्यटनमा लगानी

व्यवसायलाई विविधीकरण गर्ने क्रममा थापाले पर्यटन क्षेत्रमा पनि आफूलाई प्रवेश गराए । आजभन्दा ७ वर्ष अगाडि पोखरामा एराइबल होटल एण्ड रेष्टुरेन्ट थापाले सुरुवात गरे । जुन ४ वर्षसम्म चलाएपछि बिक्री भयो । पर्यटन क्षेत्रमा नयाँपन दिने गरी लगानी गर्ने उनको सोच थियो । यही क्रममा काठमाडौंका साथीहरुले लगानीका लागि प्रस्ताव राखे । पर्यटकीय नगरी पोखरामा स्तरीय होटल सञ्चालन गर्ने आफ्नो सोच पुरा गर्न साथीहरुको प्रस्तावले उनलाई हौसल्ला मिल्यो । सोही क्रममा पोखराको दोबिल्लामा त्यस क्षेत्रमै पहिलो पटक जंगल रिसोर्टको अवधारणा अन्तर्गत ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट’ सुरुवात भयो ।

४ वर्षमा निर्माण सकेर गत वर्षबाट रिसोर्ट सञ्चालनमा आइसकेको छ । होटलमा २ वटा स्विट रुमसहित ६४ वटा लक्जरी रुम छन् । ७० रोपनी जग्गामा निर्माण भएको रिसोर्टमा १ अर्ब २५ करोड रुपैयाँ लगानी छ । यात्री ट्राभल्समा पनि थापाको लगानी छ ।

पर्यटन व्यवसायमा यतिमा मात्रै आफूलाई सीमित राख्ने पक्षमा थापा छैनन् । नयाँशैलीको प्रडक्ट थप्न उनी सक्रिय छन् । कास्कीको नाउँडाँडामा हिमालय रिसोर्ट खुल्दैछ । २ सय ५० रोपनी जग्गामा रिसोर्ट बनाउने तयारीमा थापा छन् । जुन रिसोर्टमा थापाले आफ्नै दाइ विन्दुकुमार थापासँग पनि सहकार्य गर्नेछन् । जुन रिसोर्टमा प्राइभेट स्विमिङ पुलसहितका भिल्लाहरु हुनेछन् । प्राकृतिक मनोरञ्जन र स्थानीय उत्पादनको प्रयोगका लागि रिसोर्ट नेपालकै नमुना हुने थापाले विश्वास लिएका छन् । यही रिसोर्टको अध्ययनका लागि थापा विश्वका धेरै देश घुमिसकेका छन् ।

लायन्समार्फत सामाजिक काम

सामाजिक क्षेत्रमा काम गर्ने रुची कलेज अध्ययन गर्दादेखि नै उनमा थियो । सामाजिक काम गर्ने सोचका साथ सन् १९९९ मै थापा अन्तर्राष्ट्रिय संस्था लायन्समा आबद्ध भए । व्यवसायसँगसँगै उनले सामाजिक कामलाई पनि निरन्तरता दिए । २००६÷०७ मा लायन्स क्लब अफ पोखरा चौतारीको अध्यक्ष भएर सफल नेतृत्व  गरेपछि सामाजिक क्षेत्रमा उनको सक्रियता झनै बढ्यो । आफूलाई सामाजिक क्षेत्रमा थप स्थापित पनि गरे । त्यसपछि लायन्समा कहिल्यै पछाडि फर्कनु परेन ।

क्रमशः लायन्समा जोन चियरपर्सन, रिजन चियरपर्सन, एडभाइजर, सिनियर एडभाइजर भएर काम गरे । सिनियर एडभाइजर भएकै समयमा गभर्नर भएर लिडरसिप लिनका लागि साथीहरुले अनुरोधसमेत नगरेका होइनन् । आफू भन्दा अग्रजहरुलाई अगाडि बढाउनुपर्छ भन्ने मनसायले अन्य पद लिएको उनले स्मरण गरे । सन् २०१३/१४ मा लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सेकेण्ड भाइस गभर्नर भएर थापा नेतृत्वमा अगाडि बढे । २०१५/१६ मा डिष्ट्रिक्ट गभर्नर भएर उनले लायन्समा सफल नेतृत्व प्रदान गरिसकेका छन् ।

लायन्समा नयाँ रेकर्ड

लायन्समा गभर्नरको कार्यकाललाई महत्वपूर्ण मानिन्छ । थापाले आफू गभर्नर हुँदा धेरै उल्लेखनीय कामहरु गरेका छन् । नेपाल लायन्स फाउण्डेसनलाई बलियो बनाउने सोच अनुसार नयाँ अवधारणासाहित कार्यक्रमको सुरुवात गरे । जस अन्तर्गत मेगा, ग्राण्ड, प्लाटिनम, टाइटेनियम, प्रोग्रेसिभ कन्ट्रिव्युसनको सुरुवात गरे । सुरु भएको २२ वर्षको इतिहासमा कोषमा १ करोड हाराहारीमा रकम जम्मा भएको थियो । थापा गभर्नर हुँदा सोही वर्ष १ करोड ३९ लाख रुपैयाँ कोषमा थप भयो । त्यो समयसम्म अन्तर्राष्ट्रिय फन्डमा बढी रकम जम्मा हुन्थ्यो । नेपालमै कोष बढाउनुपर्छ भनेर एनएलएफको लिडर डोनरसिपको अवधारणा उनले ल्याएका हुन् । अहिले जुन कोषमा ६ करोड हाराहारीमा रकम पुगेको छ ।

२ वटा महत्वपूर्ण प्रोजेक्टहरु लायन्स अन्र्तराष्ट्रियबाट प्राप्त भयो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु रोग उपचार केन्द्र स्थापनाका लागि हर्ट केयर सेन्टर स्थापना गरे । लायन्स अन्तर्राष्ट्रियबाट १ लाख डलर यो प्रोजेक्टका लागि प्राप्त भयो । म्याचिङको लागि आफ्नो तर्फबाट ३० लाख रुपैयाँ थापाले योगदान गरे । पोखरा उद्योग वाणिज्य संघको १५ लाख रुपैयाँ र लायन्सको स्थानीयस्तरबाट उठेको ७ लाख रुपैयाँसमेतबाट पोखरामा हर्ट केयर सेन्टर स्थापना भयो । यो प्रोजेक्टका लागि सोही वर्षमा लायन्स अन्तर्राष्ट्रियको स्वीकृति भयो । सोही वर्ष काम सम्पन्न भएर हिसाब पनि फर्छौट भयो । सोही वर्ष प्रोजेक्ट स्वीकृति भएर सोही वर्ष हिसाव फर्छौट लायन्सको इतिहासमै पहिलो पटक भएको थापा बताउँछन् ।

परिवारका साथमा थापा

सोही वर्ष लेखनाथको मातृ शिशु उपचार केन्द्रका लागि लायन्स अन्तर्राष्ट्रियबाट ८५ हजार डलर प्राप्त भयो । पहिलो पटक एउटै गभर्नरको पालामा २ वटा ठूला प्रोजेक्ट अगाडि बढेको इतिहास छ । थापाको पहलमा फोर्स मोटर्सबाट ३ वटा एम्बुलेन्स सहयोग प्रदान गरियो । जुन एम्बुलेन्स लायन्स क्लबले चलाउने गरी निःशुल्क उपलब्ध गराइयो । अत्याधुनिक एम्बुलेन्स जुन झण्डै ७० लाख रुपैयाँ मूल्य बराबरका थिए ।

महाभूकम्पसँगै राहतमा सक्रियता

२०७२ वैशाख १२ गते काठमाडौंको प्रज्ञा भवनमा लायन्सको अधिवेशन चलिरहेको थियो । सोही दिनबाट थापा गभर्नरमा इलेक्ट हुँदै थिए । सोही क्रममा महाभूकम्प गयो । राम्रोसँग अधिवेशन पनि सम्पन्न गर्न नपाई गभर्नर (जुनसम्म इलेक्ट गभर्नर) को भारी बोके थापाले । भूकम्प गएसँगै उद्धार तथा राहतमा जुट्न इलेक्ट गभर्नर हुँनासाथ थापाले अनुरोध गरे । भूकम्प पीडितलाई राहत प्रदान गर्न त्यतिबेला पोखरा क्षेत्रबाट मात्रै ६५ लाख रुपैयाँ संकलन गरेर हस्तान्तरण गरिएको थियो । सेनासँग सहकार्य गरेर लायन्सहरु उद्धार तथा राहतमा सक्रिय भएका थिए ।

लायन्समा ‘सिस्टम’ बसाले

व्यवसाय र सामाजिक काम जुनसुकै क्षेत्रमा पनि थापाले आफूलाई फरक रुपमा प्रस्तुत गर्छन् । जुन, उनको विशेषता हो । उनको यो विशेषता लायन्समा पनि उजागर भयो । सबै लायन्सले पिन पाउनुपर्छ भन्ने उनलाई लाग्यो र व्यवहारमा कार्यान्वयन पनि गरे । त्यस अगाडि पिएसटि (अध्यक्ष, सचिव र कोषाध्यक्ष) र केही लिडरले मात्रै गभर्नरको पिन पाउँथे । फस्ट भाइस प्रेसिडेन्टलाई डाइरेक्ट्रीमा समावेश गर्ने र डिष्ट्रिक्ट स्कुलिङमा पनि समावेश गर्ने प्रचलन सुरुवात पनि उनले गरे । डिष्ट्रिक्टका क्याबिनेट अफिसरहरुमा एकरुपता हुनुपर्छ भनेर ड्रेस वितरणको थालनी पनि थापाले गरे ।

डिष्ट्रिक्टका हिसाबहरु पारदर्शी हुनुपर्छ भनेर उनी सधैं सचेत बने । गभर्नरलाई लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त हुने भत्ता बापतको १७ लाख रुपैयाँ भन्दा बढी रकम डिष्ट्रिक्टकै कोषमा राखेर कोषबाटै खर्च गर्ने काम गरे । मासिक अवार्डको सुरुवात पनि सोही वर्षबाट भयो । डिष्ट्रिक्टकैै थिममा क्लब लेभलसम्म ब्यानर बनाउने कामको सुरुवात पनि थापाले गरेका हुन् । संस्थालाई प्रविधिमैत्री बनाउनुपर्छ भनेर मोबाइल एपको सुरुवात पनि भयो । लायन्सको गुणस्तरीयता वृद्धि गर्न लायन्स क्लबहरु खोल्दा ३ वटा वरिन्टेसन गर्नैपर्ने र त्यसपछि मात्रै क्लब खोल्न अनुमति दिने अवधारणामा उनी कटिबद्ध भए । ‘संख्यालाई भन्दा गुणस्तरलाई ध्यान दिनुपर्छ भनेर म लागेको थिएँ,’ उनी भन्छन् । उनले आफ्नो कार्यकालमा पहिलो कार्यक्रम लायन्सको क्वालिटी र दोस्रो कार्यक्रम एनएलएफलाई बनाएका थिए । उनले भाइस गभर्नरहरुलाई डिष्ट्रिक्टका कार्यक्रममा सँगसँगै लिएर हिड्ने र फस्ट भाइस गभर्नरलाई स्वागत र सेकेण्ड भाइस गभर्नरलाई धन्यवाद मन्तव्य राख्न दिने गर्थे ।

कार्यक्रमको सुरुवातमा राष्ट्रिय गान

लायन्सको कार्यक्रममा अन्तिममा राष्ट्रिय गीत बजाउने प्रचलन थियो । थापालाई यो कत्ति पनि मन परेको थिएन । दोस्रो क्याबिनेटबाट प्रस्ताव पारित गरेर कार्यक्रमको सुरुवातमै राष्ट्रिय गान बनाउने चलन उनले सुरुवात गरे । कार्यक्रमको अन्तिममा बजाएर राष्ट्रिय गानलाई लायन्सले सम्मान दिएन भन्ने गुनासो थियो । जुन गुनासोलाई उनले चिरे । थापाको नेतृत्वमा भएको यो अभियानलाई अर्को वर्षबाट मल्टिपल र अन्य डिष्ट्रिक्टले साथ दिए र उनीहरुले पनि कार्यक्रमको अगाडि नै राष्ट्रिय गान बजाउन सुरु गरे । पहिला अन्तिममा गाउँदा मान्छे हिडिसकेका हुन्थे, कोही खाना तथा खाजा खान व्यस्त हुन्थे । ‘कार्यक्रमको सुरुवातमा राष्ट्रिय गान बजाउने क्रम सुरु गर्न पाउँदा मलाई गौरव महसुस हुन्छ,’ थापा भन्छन् ।

मल्टिपलमा योगदान

लायन वर्ष २०१५/१६ मा नेपालमा रहेका चारवटै गभर्नरहरु मिलेर काम गरेका थिए । भर्खर भूकम्प गएको अवस्था थियो । भूकम्पका लागि प्रोजेक्ट लेखेर नेपालमै सबैभन्दा ठूलो ग्राण्ड सोही वर्ष आयो । त्यस अन्तर्गत ५० करोड रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भएको थियो । सोही रकमबाट भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण गरियो । १८ वटा विद्यालय भवन निर्माण भएर हस्तान्तरण पनि भइसकेको छ । लायन्स ब्लड बैंकको स्थापनाको प्रोजेक्ट सञ्चालन पनि सोही वर्ष भयो । मल्टिपल फेलोसिपको सुरुवात पनि सोही वर्षदेखि भएको हो ।

अटोमोबाइल एसोसिएसनमा नेतृत्व

अटोमोबाइल व्यवसायमा आबद्ध भइरहँदा व्यवसायीहरुको छाता संस्था पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनमा पनि थापा संस्था स्थापनादेखि नै आबद्ध भएर काम गरे । विभिन्न पदको जिम्मेवारी लिदै २०१२ मा उनी पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष भए । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको २ कार्यकाल केन्द्रीय उपाध्यक्ष भइसकेका छन् ।

आगामी लक्ष्य

आगामी दिनमा व्यवसायको विस्तारसँगै सामाजिक क्षेत्रमा सक्रिय जीवन बिताउने सोच थापाको छ । ‘आफू लामो समयसम्म आबद्ध भएको संस्था लायन्सको अन्तर्राष्ट्रियस्तरमा अगाडि बढ्ने र व्यावसायिक क्षेत्रमा नाडाको नेतृत्व गर्ने सोचमा छु,’ थापाले भने । सामाजिक क्षेत्रमा अझै बढी सक्रिय हुन लायन्समा अन्तर्राष्ट्रिय डाइरेक्टर बन्ने तयारीमा आफू रहेको उनले बताए ।

आत्मविश्वास, निरन्तरता र गुणस्तरियता

व्यावसायिक क्षेत्रमा होस् वा सामाजिक जीवनमा आत्मविश्वास बिना सफल हुन नसकिने बताउँछन् थापा । ‘आत्मविश्वाससँगै निरन्तरता र गुणस्तरियता पनि काममा आवश्कयता पर्छ,’ उनी भन्छन् । रिकण्डिसनबाट सुरुवात भएको उनको व्यावसायिक जीवनले आत्मविश्वास, निरन्तरता र गुणस्तरियताकै कारण अहिलेको अवस्थामा फड्को मारेको छ । थापालाई हरेक काम गुणस्तरीय चाहिन्छ । यसको उदाहरण उनले स्थापना गरेका गाडी शोरुमलाई हेर्न सकिन्छ । जुन अन्तर्राष्ट्रियस्तरका छन् । हिमालय अर्गनाइजेसन अन्तर्गत अहिले १ सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । काम गरेर सानो भइदैन भन्ने सोच थापामा छ । यही सोच अनुसार थापा अहिले पनि आफ्नो काममा निरन्तर खटिरहन्छन् । ‘कामको सुरुवात सानोबाटै गर्नुपर्छ,’ उनी भन्छन्, ‘सानो कामको सुरुवातले नै लगानी बढाउन र व्यवसाय विस्तारमा योगदान थप्छ ।’

You might also like

Comments are closed.