दीपा रेग्मी । कास्कीको हेमजास्थित सुन्दरपुरीकी दिव्या सुवेदी र उनका श्रीमान् बासुदेव सुवेदीलाई स्वदेशमै बसेर केही गर्ने सोच थियो । तर, यहाँ जे काम गर्दा पनि राम्रो कमाई नहुने र परिवारको खर्च टार्नसमेत धौ-धौ हुने स्थिति भयो । आफ्ना दुई सन्तानलाई राम्रो शिक्षादीक्षा दिनु पर्ने दायित्व पनि उनीहरु माझ थियो । कमाउनु नै पर्ने बाध्यताकै बीच दिव्याले श्रीमानलाई विदेश पठाउने निर्णय गरिन् ।
श्रीमानलाई विदेश पठाउन केही रकम सरसापट गरेर दिव्याले जोहो गरिन् । तर, उक्त रकम दलालले खाइदिए पछि उनको दुःखको दिन झनै बढ्यो । जेनतेन गरि श्रीमान विदेश गएरै छाडे । पैसा कमाउने सोचका साथ श्रीमान विदेशिए पनि सोचेजस्तो कमाई विदेशमा पनि कहाँ हुन्छ र ? विदेशमा श्रीमान्को कमाई राम्रो नभएपछि दिव्या झनै बढी चिन्तित थिइन् ।
अब के गर्ने, कसो गर्ने भन्नेमा सोचमग्न बनिन् दिव्या । सन्तानको लालनपालन शिक्षादिक्षा र उनीहरुको भविष्यले उनलाई झनै बढी सताउन थाल्यो । अरुको घरमा भाडामा बस्दै आएकी उनलाई आफ्नोभन्दा बढी परिवारको भविष्यको चिन्ता थियो । कमाउन विदेश गएका श्रीमानको कमाई राम्रो नभएपछि दिव्यालाई लाग्यो, अब आफैले केही गर्नुपर्छ । काम त गर्ने तर के गर्ने ? भनेर मेसो नै पाउन सकिनन् । केही काम गर्ने र आत्मनिर्भर बन्ने उनको चाहना दिनप्रतिदिन बढ्न थाल्यो ।
महिलाले उद्योग धन्दा सञ्चालन गर्दा बैंकबाट सरल किस्तामा ऋण पाइन्छ, भन्ने उनले कतै सुनेकी थिइन् । उनले पनि बैंकबाट ऋण लिने र उद्यममा लगानी गर्ने सोच बनाइन् । धेरै बैंकहरुमा बुझ्दै हिँड्न थालिन् । बुझ्ने क्रममा चिप्लेढुङ्गामा रहेको एनएमबि बैंकमा पुगिन् । ‘त्यहाँबाट मैले ऋण झिक्ने निधो गरेँ,’ उनले भनिन् । ४ वर्ष अगाडि उनले बैंकबाट १५ लाख रुपैयाँ ऋण लिइन् । त्यही ऋण नै दिव्यालाई महिला उद्यमीको यात्रा अगाडी बढाउन सहयोगी बन्यो । ऋणलाई भरपुर सदुपयोग गर्दै दिव्याले पोखरा हेम्जा सुन्दरपुरी चोकमा डिबिएस मेटल इन्जिनियरिङ उद्योग सञ्चालन ल्याइन् । सानो लगानीबाट सुरु भएको उनको यो व्यवसायले ४ वर्षकै अन्तरालमा उनलाई सफल महिला उद्यमीको पहिचान दिलाउन सफल भएको छ ।
‘आफ्नै ठाउँमा केही काम गर्ने सोच मसँग थियो । जे काम गर्नका लागि पनि पैसाकै आवश्यकता थियो । लगानीका लागि पैसा थिएन,’ उनले बिगत सम्झदै आर्थिक आवाजलाई भनिन्, ‘श्रीमान विदेश गएपछि राम्रै पैसा पठाउनुहुन्छ र हाम्रो पनि सुखको दिन आउँछ भन्ने सोचेको थिएँ । सो सोचाई पनि गलत भएपछि आफैले केही न केही उद्यम गर्नुपर्छ भन्ने लाग्यो । उद्यम गर्ने मभित्रको तिब्र चाहनालाई बैंकको ऋणले सहयोग गर्यो ।’ सुरुमा उनले १ जना कामदार राखेर उद्योग सुरु गरेकी थिइन् । अहिले उनको उद्योगमा आफू बाहेक ५ जना कामदार छन् ।
‘उद्योग सुरु भएपछि राम्रै कमाई भइरहेको छ,’ उनले भनिन्, ‘यही उद्योगको आम्दानीबाट घरखर्च चलाउँदै परिवारको हेरचाह तथा शिक्षादीक्षामा खर्च गर्न सफल छु ।’ उनले छोराछोरीलाई पनि राम्रो स्कुुलमा पढाएकी छन् । श्रीमान्को काम र कमाई विदेशमा त्यति सन्तोषजनक थिएन । त्यसैले उनले श्रीमान्लाई पनि स्वदेशमै फर्काउने निर्णय गरिन् ।
विदेश गएको केही महिमा श्रीमान स्वदेश फर्किए । केही समय श्रीमान्ले पनि दिव्याकै उद्यममा साथ दिए । मेटल उद्योगसँगै अहिले श्रीमानले पनि प्लाईको काम सुरु गरिसकेका छन् ।
‘काम गर्ने क्रममा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको छ,’ दिव्याले भन्छिन् । बैंकसंग कसरी काम गर्ने, ऋण कसरी लिने, ऋण कसरी तिर्ने र कस्तो कर्जा लियो भने आफूलाई सहज हुन्छ, भन्ने कुरा सबै उनले जानिसकेकी छन् । ‘बैंकसँग इमान्दार हुुन सक्यो भने बैंकले पनि हामीलाई विश्वास गर्दाे रहेछ,’ उनले भनिन् ।
दिव्यालाई अहिले बिगतका कठिन दिनहरुले निकै भावुक पनि बनाउँछ । ‘भर्खर उद्योग सुरु गर्दा जग्गा भाडामा लिएर गरेका थियौं,’ उनले भन्छिन् । टहरा बनाएर व्यवसाय सुुरु गर्ने क्रममा त्यहाँ काम गर्न नदिएर निकालिनु परेको दुःखद अतित पनि उनको सम्झनामा ताजै छ । जस्तोसुखै परिस्थितिलाई पनि सामना गर्ने सहास उनमा बढेको थियो । त्यही सहास, निरन्तरको संघर्ष र मेहनतकै परिमाणस्वरुप उनले अहिले उनी व्यवसायमा सफल भएकी छन् ।
मेहनत गर्यो भने के हुँदैन र भन्ने ज्वलन्त उदाहरण बनेकी छन् दिव्या । शून्यबाट सुुरु भएको व्यवसायबाट अहिले सबै खर्च कटाएर महिनाको ६० देखि ७० हजार रुपैयाँ बचत गर्न सफल भएकी छन् उनी । उद्योगको कमाईबाट उनले अहिले जग्गा किनेर ३ तलाको घर बनाइसकेकी छन् । आफ्नै घरमा उद्योग चलाएकी छन् । पहिले उनको बारेमा कुुरा काट्नेहरु नै आज उनको सफताको उदाहरण अन्यलाई समेत दिन थालेका छन् । नेपालमा केही गर्न सकिदैन भन्नेहरुको लागि एक गतिलो उदाहरण बनेकी छन् दिव्या ।
Comments are closed.