नेपालमा गरीबी न्युनीकरणका लागि गरीबी निवारण कोष, भूमि सुधार कार्यक्रम, एकीकृत ग्रामीण विकास कार्यक्रम, आफ्नो गाउँ आफै बनाऔं, गरीबसँग विश्वेश्वर, यूवा स्वरोजगार कार्यक्रम, विभिन्न सहकारी, लघुवित्त कार्यक्रम लगायत संचालनमा आएका छन् । सरकारी तथा निजीस्तरबाट गरीबी न्यूनीकरणमा पु¥याएको योगदान भन्दा तुलनात्मक रूपमा लघुवित्तको योगदानलाई महत्वका साथ हेर्न सकिन्छ । लघुवित्तले वास्तविक गरीबी घटाउन पारेको सकारात्मक प्रभाव, वित्तीय पहुँच, वित्तीय समावेशीकरण, महिला सशक्तीकरण लगायत समग्र सामाजिक एवं आर्थिक रुपान्तरणमा पुर्याएको योगदान अत्यन्त महत्वपूर्ण रहेको तथ्य विभिन्न अध्ययन तथा निष्कर्षबाट प्रष्ट हुन सकिन्छ ।
नेपालमा लघुवित्तकै माध्यमबाट करिब ५८ लाख घरपरिवारले लघुवित्तको प्रत्यक्ष लाभ लिइरहेको र नेपालको गरीबी निवारणमा विप्रेषण र लघुवित्तको भूमिकालाई प्राथमिक रूपमा आत्मसाथ गरिएको छ । नेपालमा गरिब केन्द्रित विभिन्न कार्यक्रमहरु विविध राजनीतिक स्वार्थले प्रेरित भई कार्यान्वयनमा आएपनि लामो समयसम्म चल्न सकेनन् । केही कार्यक्रम राम्रा हुँदाहुँदै पनि कुशल व्यवस्थापन र उत्प्रेरित कर्मचारीको अभावले उद्देश्य अनुरूप लक्षित वर्गसम्म पुग्न सकेन । तर वास्तविक गरिबलाई कर्जा, बचत तथा सीपद्वारा समाजमा व्याप्त गरीबी न्यूनीकरणका लागि नेपालमा बि.स. २०४९ सालमा स्थापना भएको निर्धन संस्था पछि स्थापना भएका लघुवित्त वित्तीय संस्थाले नै निरन्तर रूपमा अतुलनीय सेवा प्रदान गर्दै आइरहेका छन ।
गरीबी न्यूनीकरणका लागि स्थापना भएका अन्य कार्यक्रम असफल भइरहँदा लघुवित्त संस्था समाजमा टिकिराख्नु, कार्यक्रम निरन्तर बिस्तार भइरहनु एवं समाजमा लघुवित्त कार्यक्रमको आवश्यकता तथा लोकप्रियता वढ्दै जानु र स्थापना भएका अधिकांश संस्थाको प्रगति निरन्तर भइरहनु मूख्यतयाः यस क्षेत्रको दीर्घकालीन सोंच र उत्प्रेरित कर्मचारी नै मूल कारण हुन् ।
संस्था संचालकको उपयुक्त नीति, कुशल व्यवस्थापन, उत्प्रेरित कर्मचारी र सन्तुष्ट ग्राहक जस्ता मूख्य सूचकमा सन्तुलित संयोजन भएमात्र जतिसुकै जटिल अवस्थामा पनि संस्थाले अपेक्षित लक्ष्य हासिल गर्न सक्छ भन्ने दृष्टान्त लघुवित्त क्षेत्र हो । नेपालमा राजनीतिक द्वन्द, आर्थिक मन्दी, विश्वव्यापी कोरना महामारी, भूकम्प लगायत अन्य प्राकृतिक प्रकोप जस्ता कठिन परिस्थितिमा समेत अन्य बैंक तथा वित्तीय संस्था विस्थाापित र सीमित भइरहेको सन्दर्भमा लघुवित्त क्षेत्रको आवश्यकता र महत्व अझ वढ्दै गइरहको पाइन्छ । यस क्षेत्रमा कार्यरत कर्मचारीको भूमिका एवं योगदानलाई सबैभन्दा महत्वपूर्ण मान्न सकिन्छ ।
खासमा लघुवित्तले आफ्ना ग्राहकलाई ऋणी र बैंकको रूपमा कहिल्यै प्रस्तुत गरेन बरु ग्रामीण भेगका विपन्न, अशिक्षित र पीछडिएका महिला दिदीबहिनीको माइती बन्ने प्रयास गरिरह्यो । लघुवित्तका कर्मचारीले कुनै पनि ग्राहकलाई सम्बोधनमै फलानो ‘जी’ भनेर सम्बोधन नगरी दिदी वा बहिनी भन्नुको तात्पर्य नै हामी हाम्रा ग्राहकको माइती हौं कुनैपनि दुःखमा हामी छौं भन्ने आभाष दिलाउन नै गरिएको सम्बोधन हो । त्यसैले त देशमा फैलिएको सशस्त्र द्वन्द अर्थात दश वर्षे जनयुद्धको त्यो कठिन समय जुनबेलामा सदरमुकाम बाहेकका शहरमै पनि विभिन्न वाणिज्य बैंक लगायत अन्य वित्तीय सेवा प्रदान गर्ने संस्थाले आफ्नो सेवा परिवर्तन वा सेवा बन्द गर्दा पनि लघुवित्त संस्थाले आफ्नो सेवा प्रदान गरिरहे र सेवा प्रदान गर्दा आईपर्ने अधिकांश समस्या बाधा व्यवधान संस्था र समूहमा आवद्ध दिदीबहिनीले समाधान गरे ।
कुनै दिन पैसा कस्तो हुन्छ ? भन्नेसम्म थाहा नभएका दूर–दराजका दिदीबहिनीलाई पैसा किनेर, पैसा बिक्री गरेर, आफ्नो आर्थिक जीवनस्तरमा सुधार ल्याइ गाउँ समाजमा गई आफ्नो राय÷विचार व्यक्त गर्न सिकायो । धेरै इमान्दार, परिश्रमी तर श्रोत र साधन अभाव भएका परनिर्भर विपन्न व्यक्तिलाई आत्मनिर्भर र सफल उद्यमी बनायो । ती आम विपन्न दूर–दराजमा रुमल्लिएका भुंई मान्छेलाई बैंक तथा पैसासँग सहज पहूँच पु¥याई मान्छे पनि नगन्ने त्यो समाजमा उनीहरुलाई मान्छेको दर्जा दिलाउने काम सायद कसैले गरेको छ भने त्यो लघुवित्त संस्थाले नै गरेको छ ।
तर हाल समय फेरियो । अब हिजो दूर–दराजमा रहेका समाजमा आफ्नो विचार प्रकट गर्न नसक्नेलाई सामाजिक हैसियत प्रदान गर्नका लागि लागिपरेका उनै लघुवित्त संस्था विरुद्ध अनेकन मिथ्या आरोप लगाई केही सीमित कर्जा दुरुपयोग गरि कर्जा तिर्न नसकेका व्यक्तिबाट समूह बनाइगलत प्रचार भइरहेको छ । अर्कोतर्फ देशमा स्थापित केही राजनीतिक दल वा आफूलाई समाज परिवर्तनका सम्बाहक भन्न रुचाउनेहरूलाई मानिस भेला देखाउन वा आफूचर्चामा आउन बिना अध्ययन हचुवाको भरमा भ्रम सृजना गर्न वक्तव्य जारी गरिनुले पनि आम मानिसमा लघुवित्त प्रतिको दृष्टिकोण फरक हुन गइरहेको छ । त्यस्तै कतिपय विश्वासिला सञ्चार माध्यमले पनि बिना आधार बिना अनुसन्धान लघुवित्त संस्थाले लिने ब्याज र सेवा शुल्कको गलत समाचार सम्प्रेषण गरिदिनाले आम जनमानसमा भ्रम सृजना भएको छ ।
फागुन १० गते अनलाइन खबरमा प्रकाशित जनक विष्टको समाचार पढ्दा गौरीगंगा नगरपालिका–१ लठैयाकी रेशमा चौधरीको हरेक आर्थिक कार्यमा लघुवित्त संस्थाको योगदान देखिन्छ । उनी र उनको सम्पूर्ण परिवारको हरेक आर्थिक समस्यामा लघुवित्त संस्था साँच्चिकै उनको माइतीले झै योगदान गरेको सहजै बुझिन्छ । यसो भनिरहँदा फेरि माइतीले किन कर्जा फिर्ता माग्यो भन्ने प्रश्न आउला त्यसको उत्तर पनि दिइहालांै । माइतीले कमाउँदै तिर्दै गर्नलाई कर्जा पो दिएको हो, दाइजो दिएको त होइन नि । यदि लघुवित्त संस्था हुन्थेनन् भने उनी र उनको परिवारले आफ्नो सरल दैनिकी जीवनयापन गर्नका लागि, आफ्ना बच्चाको स्वास्थ्य उपचारका लागि होस वा आफू ओत लाग्ने घर बनाउनहोस उहाँको परिवार साहु, महाजनसँग चर्को ब्याजमा कर्जा लिनुपर्ने बाध्यता रहन्थ्यो ।
फागुन ११ गतेको नयाँ पत्रिकामा प्रकाशित समाचार हेर्दै गर्दा खोरिया – ५ बस्ने हबिब साह फकिरले रु ४० हजार साहुसँग ३६ प्रतिशतका दरले ब्याज रकम भुक्तान गर्ने गरि कर्जा लिएकोमा बिना सूचना उनको साहुले उनले धितो बन्धकी दिएको १२ धुर जमिन रु ५० लाखमा विक्री गरेका रहेछन् । यदि लघुवित्त संस्था हुन्थेनन् भने रेशमा चौधरीको परिवारको अवस्था पनि के हबिब साह फकिरको जस्तो हुनथेन होला त ? तर यति भनिरहँदा आफूले प्रदान गरेको कर्जा असुली गर्ने नाममा मानिसका आधारभूत आवश्यकता गास, बास र कपास नै खोस्ने घरमा चाबी लगाइदिने जस्ता कार्य भने किमार्थ सहि होइनन् त्यस्तो कार्य कुनै पनि बहानामा गरिनुहुँदैन । यदि कतै कुनै संस्था वा व्यक्तिबाट त्यस्तो कार्य भएको छ भने सरोकारवाला प्रशासनले कारबाही गरोस् र निज रेशमा चौधरीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था होस उनको आत्माले शान्ति पाओस् ।
हो, लघुवित्तको कार्य सञ्चालन प्रकृयामा केही कमजोरी पक्कै छन, कमजोरी नै नभएको क्षेत्र कहाँ पो छ र ? ती कमजोरीलाई सुधार गर्दै लानुपर्छ र सुधार गर्ने पनि लघुवित्तले नै हो । नीतिगत सुधार नेपाल राष्ट्र बैंकले गर्ने हो जुन गरिरहेको पनि छ । तर बजारमा जुन कपोकल्पित लान्छना लगाइएका छन ती भ्रमहरु समयमै चिर्नुपर्दछ यसको लागि नियामक निकाय, नेपाल सरकार, लघुवित्त संघ र लघुवित्त कर्मचारी समयमै लाग्नुपर्ने देखिन्छ ।
यदि यो समस्याको समाधान यथाशक्य समाधान ननिक्लेमा हाल संचालित ६४ वटा लघुवित्तमा आवद्ध ५८ लाख सदस्य, २४ हजार कार्यरत कर्मचारी तथा परिवार, लगानीकर्ताको रू.३० अर्ब ३५ करोड, सर्वसाधारणको निक्षेप रकम रू.१ खर्ब ६४ अर्ब, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको सापटी रकम रू. २ खर्ब ३५ करोडको दायित्व र लगानीमा रहेको कर्जा रकम रू. ४ खर्ब ५७ करोड सम्पत्ति जोखिममा पर्छन् ।
सम्झौं त, के ऋण एकपटक लिएपछि हामीलाई हाम्रो जीवनकालभरि आवश्यक पर्दैन ? हाल नेपालमा लघुवित्तको प्रति व्यक्ति लगानीमा रहेको कर्जा रू. १ लाख ३८ हजार ४८५ छ के अब संस्थाहरू बन्द गरेर यो कर्जा मिनाहा भएमा हाम्रो दैनिकी उत्कृष्ट रहन्छ त ? कदापि रहँदैन । अर्कोतर्फ लघुवित्त संस्था खारेज नै भएछन् भने लगानकिर्ताको र बचतकर्ताका अर्बौं रकम नै डुब्ने होइन र ? संस्था खारेज गरे ती व्यक्तिको बचत संस्थाले फिर्ता गर्न सक्छ ? पक्कै सक्दैन । यस्तो अवस्थाले फाइदा सीमित स्वार्थ समूहले आफ्नो स्वार्थ सिद्धिका लागि मात्र हुनसक्छ । लघुवित्त संस्था बन्द भएको अवस्थामा तपाईं हामी जस्ता सहजै कर्जा प्राप्त गरी आर्थिक करोबार गरिरहेकाहरू समस्यामा पर्छौं अन्नत १८ औं शताब्दीको जस्तो साहु महाजनकोमा गएर चल अचल सम्पत्ति धितोमा राखेर चर्को ब्याजमा कर्जा लिएर हविव साह फकिरको अवस्थामा पुग्छौं ।
तसर्थ, आउनुहोस कहींकतै केही समस्या पक्कै छन् । बसौं समाधान नहुने समस्या कहाँ पो हुन्छन् र ? स्वस्थ बहस गरौं, कुनै एक पक्षले अर्को पक्षलाई आरोप लगाउने पक्ष विपक्षमा कृपया नउत्रिऔं ।
जय लघुवित्त
लेखक शर्मा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सामान्य प्रशासन विभाग प्रमुख हुन् ।
Comments are closed.